बागमती । नेपाली कांग्रेस बागमती प्रदेश समितिद्वारा हेटौँडामा बुधबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र विकासको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजनीति घाटा नाफाको व्यापार नभई सेवा, धर्म भएकाले आफू जनताको सेवामा समर्पित भई लागेको जनाउँदै उनले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई जनतालाई न्याय, शान्ति र विकासको अनुभूति दिलाउने गरी काम गर्ने बताए ।
मुख्यमन्त्री बानियाँले सत्य, न्याय र इन्साफ गरिब निमुखाको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे । गरिब, विपन्न समुदायको पीडालाई आफूले नजिकबाट बुझेको बताउँदै मुख्यमन्त्री बानियाँले आफू मुख्यमन्त्री हुदाँ प्राप्त हुने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका गरिब र विपन्न परिवारका घर निर्माण गरिने घोषणा समेत गरे ।