काठमाडौं,सेयर कारोबार बापत लगानीकर्तालाई भुक्तानी दिनुपर्ने रकम नदिएको अभियोगमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन्। उनीमाथि ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेपछि काठमाडौँ प्रहरी परिसरले उनलाई बयानका लागि बोलाएको थियो। प्रहरीको बोलावटपछि उनी स्वयं हाजिर भएका थिए। श्रीवास्तवले सेयर खरिदबापत लगानीकर्ताले पाउने भुक्तानी नदिएको भन्दै जाहेरी दर्ता भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दका अनुसार उनी हाजिर भएलगत्तै कानुनी प्रक्रिया अघि बढाइएको छ।यसअघि सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई पनि सोही प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई केही दिन हिरासतमा राखिएको थियो तर अदालतले म्याद थप्न अनुमति नदिएपछि हाजिरी जमानीमा छाडिएको थियो। यद्यपि, प्रहरी अझै पनि अग्रवालमाथि थप अनुसन्धान गरिरहेको छ र पुनः हिरासतमा लिने तयारीमा रहेको बताइएको छ।लगानीकर्तासँग रकम लिएर समयमा भुक्तानी नगर्ने र सेयर कारोबारमा विश्वास गुमाउने यस्ता घटनाले पूँजी बजारप्रति गम्भीर प्रश्न खडा गरेका छन्। नियामक निकाय र सुरक्षाकर्मीहरू यस्ता ठगी प्रकरणमाथि कडाइका साथ अघि बढ्नुपर्ने आवाजहरू उठ्न थालेका छन्।