नयाँदिल्ली । रुससँग निरन्तर तेल खरिद गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध थप करको धम्की दिएपछि भारतले यसलाई ‘अन्यायपूर्ण’ रहेको टिप्पणी गरेको छ ।
सोमबार ट्रम्पले भारतबाट आयातित वस्तुमा व्यापक शुल्क लगाउने धम्की दिएका थिए । रुसको तुल किनेको भन्दै ट्रम्पले धम्की दिएका हुन् । ‘भारतले ठूलो मात्रामा रुसी तेल मात्र किनेको छैन, किनेर खुला बजारमा त्यसलाई बेची व्यापक नाफा समेत आर्जन गरेको छ’, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गरेका थिए ।
अगस्ट ७ देखि भारतीय वस्तुमा अमेरिकाले २५ प्रतिशत शुल्क लाग्ने निर्णय जुलाई ३१मै गरिसकेको छ । त्योसँगै ट्रम्पले रुसी तेल खरिदबापत थप जरिबाना लाग्ने समेत बताएका थिए ।
यो निर्णयपछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरी भारतमाथि निशाना साँध्नु अन्यायपूर्ण र अतार्किक भएको बताएको छ । भारतीय उपभोक्ताका लागि सहुलियत लागत सुनिश्चितिका लागि तेल आयात हुने गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक भारतले अमेरिका स्वयंले रुसबाट ईभी उद्योग, मल कारखाना र विविध केमिकलका लागि युरेनियम हेक्जाफ्लराइड निरन्तर रुपमा खरिद गरिरहेको समेत उल्लेख गरेको छ ।
भारतले आफ्नो राष्ट्रिय स्वार्थ र आर्थिक सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउने जवाफ समेत अमेरिकालाई दिएको छ । सन् २०२४मा भारतसँग अमेरिकाको व्यापारघाटा ४५.८ अर्ब डलर रहेको थियो । जुन सन् २०२३को भन्दा ५.९ प्रतिशतले बढी रहेको रोयटर्सले उल्लेख गरेको छ ।