अमेरिका । संयुक्त राज्य अमेरिकाले अबदेखि पर्यटक वा व्यवसाय भिसामार्फत अमेरिका आउन चाहने विदेशीहरुसँग अग्रीमरुपमा १५ हजार अमेरिकी डलर डिपोजिट गर्न लगाउन सक्ने भएको छ ।
बीबीसीका अनुसार यस्तो भिसा लिएर अमेरिकामै बस्ने प्रवृत्ति अन्त्य गराउन नयाँ नियमको प्रस्ताव गरिएको हो । अमेरिकी स्टेट डिपार्टमेन्टको एक सूचनामा ‘भिसा ओभरस्टे’ अन्त्य गर्न १२ महिने पाइलट कार्यक्रम लागू गराउने उल्लेख छ । यसअनुसार केही देशहरुका नागरिकको हकमा यो नियम लागू हुन सक्नेछ ।
अवैध आप्रवासनमाथि कडा नीति अख्तियार गरिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ प्रस्ताव अघि सारेको हो । राष्ट्रपति भएको पहिलो दिन नै उनले अवैध आप्रवासन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
मंगलबार प्रकाशित सूचनामा अस्थायी आगन्तुक भिसा लिएर त्यसको अवधि गुजारेका मानिसहरुको देशलाई यो नीति लागू हुनसक्नेछ । यसका लागि ओभरस्टे दर धेरै भएका देशहरु नयाँ नियममा पर्न सक्नेछन् । ती देशका नागरिकहरुले पहिले नै १५ हजार डलर डिपोजिट गर्नुपर्नेछ ।