गुण्डा नाइकेका रूपमा चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध अब भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने भएको छ। झण्डै एक वर्षअघि घटेको एक ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा चक्रे मिलनको नाम पुनः प्रहरीको फोकसमा आएको हो। भक्तपुरको थिमीस्थित बड्डाको तावा रेस्टुरेन्टमा भएको उक्त आक्रमण घटनासँग उनको नाम जोडिएको हो।
१० भदौ २०८१ मा दिव्यश्जरीस्थित उक्त रेस्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको थियो। पीडितका काका दिनेशकुमार रायमाझीले दिएको जाहेरीअनुसार, सर्लाहीका अजित खवाससहितका समूहले आक्रमण गरेका थिए। जाहेरीमा चक्रे मिलनको नामसमेत उल्लेख भए पनि त्यसबेला वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन।
प्रहरीले भने अजित खवासलाई पक्राउ गरी मुद्दा अघि बढाइसकेको छ। अब भने चक्रे मिलनमाथि पनि अनुसन्धान सुरु गर्न लागिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन्।चक्रे मिलन हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। बिहीबार राति महाराजगञ्जस्थित होटल साम्बालामा आयोजित बर्थडे पार्टीमा उनी पक्राउ परेका थिए। उक्त पार्टीबाट पक्राउ परेका ४७ जनामध्ये १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ।
यद्यपि दिव्यश्जरी आक्रमणमा चक्रे स्वयम् उपस्थित थिए वा थिएनन् भन्ने पुष्टि नभए पनि योजनाकार उनी नै भएको आरोप लगाइएको छ। काठमाडौं परिसरको अनुसन्धान प्रक्रिया सकिएपछि उनलाई भक्तपुरमा लगेर बयान लिने तयारी प्रहरीले गरिरहेको छ। देशका ठूला गुण्डा अभियुक्तमध्ये एकका रूपमा चिनिएका चक्रे मिलनमाथिको पुनः सक्रिय अनुसन्धानले अब उनका विगतका गतिविधि पनि उजागर हुने संकेत देखिएको छ।