काठमाडौं , नेपाल प्रहरीले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित विभिन्न तहका ३५ जना अधिकृतहरूको बढुवा गरेको छ। बुधबार गृह मन्त्रालयको निर्णयअनुसार गरिएको यो बढुवामा एसएसपीहरूको सिफारिस गृहमन्त्री रमेश लेखकले स्वीकृत गरेका हुन् भने प्रहरी उपरीक्षक (एसपी) र नायव उपरीक्षक (डीएसपी) तहका अधिकृतहरूको बढुवा गृहसचिवको निर्णयअनुसार गरिएको हो।
बढुवा भएका अधिकृतहरूलाई बुधबार नै प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।एसएसपीमा बढुवा हुने अधिकृतहरूमा तुलबहादुर कार्की, राकेश सिंह, राजिवबहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहेका छन्।
यता, आफूलाई बढुवा सिफारिसमा छुटाइएको भन्दै एसपी बिमल बस्नेतले बढुवा उपरको उजुरी दर्ता गराएका थिए। तर लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको बढुवा सुनुवाइ समितिले उक्त उजुरी खारेज गरेको छ। प्रहरी प्रधान कार्यालयले बस्नेतमाथि पाँच वर्षे बढुवा रोक्काको कारबाही अझै पूर्ण रूपमा नसकिएको स्पष्ट पार्दै सिफारिस नगरिएको उल्लेख गरेको छ। यद्यपि, सोही मुद्दामा सर्वोच्च अदालतबाट उनी सफाइ पाइसकेको विवरणसमेत समावेश गरिएको छ।
यसैबीच प्रहरी उपरीक्षक (एसपी) पदमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिल बहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का बढुवा भएका छन्।त्यस्तै, प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खरेलको नाम समावेश गरिएको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको समन्वयमा गरिएको यस पटकको बढुवा प्रक्रियाले संगठनभित्रको प्राविधिक, कानुनी तथा आन्तरिक राजनीतिक पक्षहरूबीचको सम्बन्धलाई पुनः एकपटक सतहमा ल्याएको देखिन्छ।