तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका छन् ।
भू–परिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा बुधबार आयोजित ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भू–परिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा अति न्यून योगदान गरे पनि नेपालले जलवायु परिवर्तनको प्रतिकूल असर भोगिरहेको बताए ।
प्रधानमन्त्री ओलीले दिगो विकासको चुनौती सामनाका लागि समन्वयात्मक काम गर्न आग्रह गर्दै नेपालको हिमशृङ्खला पग्लने क्रमले मानवीय र भौतिक जोखिम हुने गरेकाले जलवायु परिवर्तनमा हिमालदेखि समुद्रसम्मको रक्षाको अवधारणाका साथ सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराएको राससले जनाएको छ ।
उनले नेपालले जलवायु जोखिम न्यूनीकरणका लागि दीर्घकालीन एकीकृत अनुकूलन रणनीति पनि तयार गरेकाले सोको कार्यान्वयनका लागि विदेशी साझेदार संस्थाहरुले पनि सघाउनुपर्नेमा जोड दिए । समृद्री सतह वृद्धिमा कारण हिमाल पग्लन थालेको तथ्य राख्दै उनले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना बनाउन विश्वसमुदायसँग आग्रह गरे ।
‘हिमालय प्राकृतिक रिचार्ज सिस्टम भएकाले हिमाल पग्लन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘दिगो विकासका लक्ष्यको प्राप्ति गर्न समन्वयात्मक र एकीकृत प्रयासका लागि हामीले विश्वव्यापी साझा प्रयासलाई अझ गति दिनुको विकल्प छैन । यसमा नेपालको तर्फबाट उचित सहकार्य हुनेछ । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीका आजका लागि निर्धारित औपचारिक कार्यक्रमहरु सकिएका छन् ।’
राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भू–परिवेष्ठित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गरेकी छिन् ।
भू–परिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् ।
भेटमा सहभागी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार भेटका अवसरमा नेपालले आगामी सन् २०२६ मा आफूलाई विकासशील मुलुकका स्तरोन्नतिमा लान गर्नुपर्ने तयारीलाई थप गति दिने विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि थापालगायत सहभागी थिए ।
त्यसैगरी, प्रधानमन्त्री ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व महासङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले पनि शिष्टाचार भेट गरेको जनाएको छ ।
भू–परिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा साइडलाइन भएको भेटमा नेपालमा लगानी अभिवृद्धिको सम्भावना र नेपालको लगानी प्रवर्द्धन बोर्डले महासङ्घको सदस्यता लिनेलगायत विषयमा छलफल भएको थियो ।