काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको ‘नाडा अटो सो २०२५’ नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय हुने जनाएको छ ।
नाडाका अध्यक्ष करण चौधरीले बुधबार एक विज्ञप्ति जारी गरी नाडा अटो सो नेपालका सबैभन्दा प्रतीक्षित अटोमोटिभ कार्यक्रममध्ये अग्रणी भएको बताए । नाडा अटो सो यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ । यो सो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब भएको नाडाले जनाएको छ । ‘यो फर मोर’ भन्ने नारासहित आयोजना हुने सोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने नाडाका अध्यक्ष चौधरीले बताए ।
नाडाले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै कतिपयले आफूलाई ठूलो वा सबैभन्दा राम्रो भन्दै हल्ला गरेको बताएको छ । ‘नाडा अटो सोले तथ्य, निरन्तरता र विश्वसनीयताबाट आफैँलाई स्थापित गरिसकेको छ’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नाडा अटो सोमा विशेष प्रविधि युनिट्री रोबोट्स र दिप्पल ईभीटीओएल यूएभी प्रदर्शनी गरिनेछ । यसैगरी, १९ वटा चारपाङ्ग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, चार वटा दुईपाङ्ग्रे सवारी ब्रान्डहरु प्रदर्शनीमा रहनेछन् । साथै, ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू गरी ३५ कम्पनीहरूले सहभागिता जनाउने नाडाले जनाएको छ । उक्त सोमा एक सय २५ भन्दा बढी प्रदर्शकहरू र एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको छ ।
तीन लाख वर्गफुट क्षेत्रफल र एक लाख ६२ हजार पाँच सय वर्गफुट प्रदर्शनी क्षेत्रसहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो सो हुने नाडाको दाबी छ । यस सोलाई १२ वटाभन्दा बढी कम्पनीले साझेदारी र व्यवस्थापन गर्नेछन् । सोका लागि सुविधाजनक जोन विभाजन गरिएको छ । सोको प्रमुख आकर्षणहरूमा विन्टेज मोटर सो, मोरिस माइनर, फिएट, पेङेगुई, बीटल, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा आरटी४०, डब्लूडब्लू बस, टोयोटा कोरोला, माज्डा फेमिलिया, टोयोटा एमआर२ र मेड इन नेपाल प्याभिलियन रहेका छन् ।