काठमाडौं । जगदम्बा मोटर्स प्रालिले १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा उक्त फारिजन, चेरी वान्डा/किङ लङजस्ता चिनियाँ ब्रान्डका बहुउपयोगी व्यावसायिक ईभीहरु नेपाली बजारमा ल्याएको हो ।
नेपालले निजी सवारी साधनमा ईभीको अभूतपूर्व वृद्धि देखाएपछि अब व्यावसायिक ईभी क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भइरहेको छ । यही प्रवृत्तिलाई मध्यनजर गर्दै कम्पनीले सार्वजनिक यातायात, कर्मचारी ढुवानी तथा पर्यटनजस्ता प्रयोजनका लागि उपयुक्त ईभी भ्यानहरु प्रस्तुत गरेको जानकारी दिएको हो । कम्पनीले सार्वजनिक गरेको फारिजन भ्यान १९ सिटर क्षमताको रहेको छ । यो भ्यानमा एक सय ७० केडब्लू इलेक्ट्रिक मोटर रहेको छ । यसले नेपालका कठिन उकालो सडकहरु सहजै पार गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । ८२ दशमलव ८८ केडब्लूएच लिथियम ब्याट्री, डिस्क ब्रेक, एयरब्याग, एबीएस, ईवीडी, ३६० डिग्री क्यामेरा, एसी, हिटर, हिटेड सिट र स्टेरिङ, चार वर्ष वा सात लाख किलोमिटरको ब्याट्री वारन्टी, पाँच वर्ष वा दुई लाख किलोमिटरको मोटर वारेन्टी रहेको छ । यसको सुरुवाती मूल्य ७६ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले सार्वजनिक गरेको अर्को ईभी चेरी वान्डाको १४ सिटर ईभी माइक्रोबस हो । चिनियाँ ब्रान्ड चेरी र वान्डाको संयुक्तरुपमा निर्माण भएको यो माइक्रोबस सहरी आवागमनका लागि किफायती, भरपर्दो र सक्षम सवारी हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा ५३ दशमलव ५८ केडब्लूएच ब्याट्री, एनईडीसी रेन्ज तीन सय किमी, ग्राउन्ड क्लेयरन्स एक सय ८० मिमि, ब्याट्री वारन्टी पाँच वर्ष वा तीन लाख किलोमिटर, मोटर वारन्टी पाँच वर्ष वा दुई लाख किलोमिटर रहेको छ । यसको मूल्य भने कम्पनीले ५६ लाख पाँच हजार रुपैयाँ तोकेको छ ।