बुटवल ,सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणलगायतका अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बैंक जमानतमा रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका छन्।साउन १९ गते दर्ता गरिएको निवेदनमा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध स्वरूप अन्यायपूर्वक थुनामा राखिएको दाबी गरेका छन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार आफूलाई बैंक जमानतमा रिहा गर्न अदालतसँग माग गरेका हुन्। लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगोबराबर रकम बैंक जमानत राख्न तयार रहेको उल्लेख गर्दै थुनामुक्त गर्नुपर्ने तर्क गरेका छन्। उनको सचिवालयले दिएको जानकारीअनुसार निवेदन दर्ता भएको तीन दिनसम्म उक्त विषय सार्वजनिक गरिएन। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले निवेदन दिएकोबारे बिहीबार (साउन २२) मात्र जानकारी पाएको बताए।लामिछाने चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन्। यसअघि जिल्ला अदालतले उनलाई सुप्रिम सहकारी प्रकरणमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालतले जिल्ला अदालतको आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको थियो। लामिछानेले पुर्पक्ष थुनाको बदलामा तारिखमा राख्न आग्रह गर्दै बैंक जमानतमार्फत रिहा गर्न अदालतमा पुनः निवेदन दिएका हुन्। यसअघि उनी यही प्रकरणमा ८४ दिन हिरासतमा बसेका थिए भने रिहा भएपछिको २५ दिनमात्र बाहिर रहेका थिए।