काठमाडौं , नेपालमा ड्राइफ्रुट्स र मसलाजन्य वस्तुको अवैध कारोबार विस्तार भइरहेको बेला वीरगञ्जका जयप्रकाश अग्रवाल र उनका छोरा शिवम् अग्रवालको नाम यस्ता कारोबारमा जोडिएको छ। माथिल्लो तहको सेटिङमै ती बाउ–छोराले ठूलो मात्रामा भन्सार राजस्व छलेको आरोप लागेको हो। वीरगञ्जस्थित जेजे एग्जिम र काठमाडौं कीर्तिपुरको टौदहस्थित आदित्य इन्टरनेशनल देशकै ठूला ड्राइफ्रुट्स र मसला कारोबारी कम्पनीका रूपमा चिनिन्छन्। जेजे एग्जिमको जिम्मा बाबु जयप्रकाशले सम्हाल्ने गरेका छन् भने आदित्य इन्टरनेशनलको नेतृत्व छोरा शिवम् अग्रवालको हातमा रहेको बताइन्छ। सूचना स्रोतहरूका अनुसार जेजे एग्जिमले भारतबाट ड्राइफ्रुट्स र मसला चोरी पैठारी गरी वीरगञ्ज र आसपासका गोदाममा भण्डारण गर्ने र त्यसपछि काठमाडौंसहित देशका प्रमुख बजारहरूमा आपूर्ति गर्ने गरेको छ। कम्पनीले कागजमा करोडौंको स्टक देखाएर तस्करीको सामान बिक्री गर्ने गरेको, तर त्यस्तो स्टक वास्तविक नभएको दाबी गरिएको छ। यता, आदित्य इन्टरनेशनलले पनि उद्योगको आवरणमा अवैध कारोबार गरिरहेको उल्लेख गरिएको छ। केही समयअघि सो कम्पनीले चाइनाबाट ओखर ल्याएको भन्दै तातोपानी नाकाबाट भन्सार प्रक्रिया पूरा गरेको थियो। तर, शंका लागेपछि भन्सार विभागले जाँच गर्दा ओखरको सट्टा किसमिससहितका अन्य सामान फेला परेका थिए। यसै कारण कम्पनीले भन्सार शुल्क दोब्बर तिर्नुपरेको थियो। राजस्व अधिकारी र भन्सार कर्मचारीसँगको मिलेमतोमै यी कम्पनीहरूले भ्याट बिल नदिने, कम मूल्य देखाएर आयात गर्ने, आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) छल्ने कार्य गर्दै आएको स्रोतको दाबी छ। वीरगञ्जदेखि काठमाडौंसम्म फैलिएको यो कारोबारमा दर्जनौं अधिकारीको संलग्नता रहेको आशंका गरिएको छ।