काठमाडौं, साउन २२ – न्याय परिषद्ले उच्च अदालतका लागि २७ जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा परिषद् सचिव यमबहादुर बुढामगर पहिलो नम्बरमा परेका छन्। उनी विशिष्ट श्रेणीका अधिकृतबाट सिफारिसमा पर्ने एकमात्र व्यक्ति हुन्।परिषद्ले सिफारिस गरेको सूचीमा १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी, १ जना सरकारी वकिल, १ जना कानुन अधिकृत, र ३ जना न्याय सेवा अधिकृत छन्। बुढामगरसँगै उच्च अदालतमा सिफारिस भएका जिल्ला न्यायाधीशहरूमा गोपालप्रसाद बास्तोला, गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर राना, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई, दीपक खनाल र अवनी मैनाली भट्टराई छन्।
जिल्ला न्यायाधीश बास्तोला हाल धादिङ जिल्ला अदालतमा कार्यरत छन्। कार्यक्षमता र वरीयताका आधारमा अगाडि रहेका भए पनि यसअघि सिफारिसमा छुटेका थिए।त्यस्तै, उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल र कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीको नाम पनि सिफारिसमा परेको छ।कानुन व्यवसायीबाट सिफारिसमा परेका नाममा मनमैजुकी शर्मिला थापा विष्ट, कञ्चनपुरका प्रतापसिंह ठकुराठी, नवलपरासीका बालकृष्ण गैरे, कास्कीकी निशा बानियाँ, संखुवासभाका श्यामकुमार विश्वकर्मा र धनुषाका अरुणकुमार पञ्जियार रहेका छन्। न्याय परिषद्ले सिफारिस गरेका नामहरु मन्त्रिपरिषदबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने प्रावधान छ।