काठमाडौं । भारतको उत्तराखण्डमा पर्ने उत्तरकाशीस्थित हर्सिल र धरालीमा दुई दिनअघि लेदोसहितको एक्कासी आएको बाढीमा बेपत्तामध्ये नेपाली पनि रहेको आशंका गरिएको छ । जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति निकालेसँगै सो बाढीमा नेपालीहरु पनि परेको आशंका गरिएको हो ।
गाउँपालिकाले वडा नम्बर २ का १३ बढी र अन्य वडाका केही व्यक्ति सम्पर्कमा नआएको जानकारी सामाजिक सञ्जालबाट प्राप्त भएकाले परराष्ट्र मन्त्रालयलाई खोजी र उद्धारका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका २ का करिब १३ बढी र अन्य वडाका केही सम्पर्कमा नरहेकाले हराएको हुन सक्ने आशंका सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएकाले उनीहरुको खोजी तथा उद्धार कार्यलाई द्रूत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिन प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउँछु ।’
उक्त बाढीपछि कम्तीमा पाँच जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयभन्दा बढी हराइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।