काठमाडौं । सरकारले धौवादी फलाम खानी सञ्चालनमा ल्याउने प्रतिबद्धता दोहोर्याएको छ । व्यावसायिक उत्पादन सुरु गर्ने भनिएको चार वर्षपछि अर्थ र उद्योग मन्त्रालयले नवलपुरको हुप्सेकोटमा रहेको खानीलाई ‘ड्रिम प्रोजेक्ट’को रुपमा अघि बढाउने बताएको हो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री दामोदर भण्डारीलगायत मन्त्रालयका उच्च अधिकारी सम्मिलित अर्थ मन्त्रालयमा भएको बैठकले धौवादी फलाम खानी सञ्चालनका लागि आवश्यक तयारी गर्ने उल्लेख गरेको छ । छलफलमा दुवै मन्त्रीले धौवादी फलाम खानीलाई सञ्चालनका लागि आवश्यक काम अगाडि बढाउन निर्देशन दिएका थिए ।
मन्त्री पौडेलले खानी तथा भूगर्भ विभागअन्तर्गतका प्रोजेक्टहरूलाई जति सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताए । दुई मन्त्री र तिनका पदाधिकारीहरुको छलफलमा खानी सञ्चालनका लागि जग्गा प्राप्तिको विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी व्यवसायीसँग छलफल गर्ने निष्कर्ष समेत निकालेको छ । साथै, लगानीको नमुनालाई लिएर समेत छलफल भएको छ ।
सरकारले हरेक वर्षको बजेट ल्याउँदा धौवादी फलाम खानी सञ्चालनमा ल्याउने तथा विकास गर्ने बताउने गरेको छ । चालू आर्थिक वर्षको बजेटमा पनि सरकारले प्राकृतिक तथा खानीजन्य वस्तुको व्यावसायिक वस्तुको अन्वेषण, उत्पादन र बजारीकरणको सम्भावना यकिन गर्न खानी क्षेत्रका विज्ञहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने उल्लेख गरेको छ । चालू आर्थिक वर्षको बजेटमा अप्रत्यक्षरुपमा खानीहरुको उत्खनन् गर्ने बताए पनि अघिल्लो बजेटहरुमा भने धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन थाल्ने किटान गरिएको थियो ।
‘धौवादी फलाम खानी विस्तृत सर्भेक्षण, विस्तृत परियोजना प्रतिवेदन तयारी र वातावरणीय सम्भाव्यता अध्ययन सम्पन्न गरी उत्खनन् कार्य प्रारम्भ गरिनेछ’, अघिल्ला बजेटमा उल्लेख छ, ‘सार्वजनिक निजी साझेदारीमा धौवादी फलाम खानीबाट फलाम उत्पादनको पूर्वतयारीका कार्य सम्पन्न गरिनेछ ।’
सरकारले आर्थिक वर्ष २०७७/७८ देखि व्यावसायिक उत्पादन गर्ने बताउँदै आफ्नो नीति तथा कार्यक्रममा समेत धौवादी फलाम खानीलाई समावेश गरेको थियो । सो वर्ष सरकारले सो खानीबाट व्यावसायिक उत्पादन गर्ने बताएको थियो ।
धौवादी खानी सञ्चालनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठूला उद्योग स्थापना हुने क्रममा रहेका र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनुनपर्ने दाबी गर्दै आएका छन् ।
गत माघमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान) को रजतजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामीसँग आठ वटा औद्योगिक क्षेत्र छन् । धौवादी फलाम खानी र मल कारखाना खोल्दैछौँ । दैलेखमा ग्यास उत्पादन हुँदैछ । ध्वस्त भएका उद्योगले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ ।’
उनले ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको बताएका थिए । ‘यस क्षेत्रमा नयाँनयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकको योगदानको म प्रशंसा गर्दछु । तपाईंहरु लगानी गर्नुस्, लगानी खोज्दै अरुलाई खोला दिइरहनु पर्दैन,’ उनले भनेका थिए ।
यति दृढताका साथ मुलुकमा खानीहरु सञ्चालन गर्ने बताए पनि हालसम्म प्रक्रिया समेत अघि बढेको छैन । ३६ प्रतिशत शुद्ध फलाम अर्थात् शतप्रतिशत फलामको धाउ निकाल्दा ३६ प्रतिशत शुद्ध फलाम पाइने उक्त खानी सञ्चालनका लागि सेयर संकलनको काम अघि बढाउने तयारी गरिएको थियो । हुप्सीकोट र बौदीकाली गाउँपालिकाको १० किलोमिटरमा फैलिएको सो फलाम खानी सञ्चालनको लागि खानी विभागले सेयर संकलनको काम अघि बढाउने तयारी गरेको थियो ।
उक्त क्षेत्रमा नौ करोड ९० लाख टन फलाम रहेकोमा नौ करोड ६० लाख टन मात्र उत्खनन् गर्न सकिने, आइरन/स्टिल उत्पादन क्रममा उद्योगको डीआरआई (डाइरेक्ट रिड्युस आइरन) प्लान्टबाट करिब ७० मेगावाट विद्युत् उत्पादन हुनेछ । विभागका विज्ञहरूले २०६९ देखि २०७५ सम्म विभिन्न समयमा खानी क्षेत्रमा नमुना संकलन गरी परीक्षण गर्दा फलाम रहेको पत्ता लागेको थियो ।
साथै, विदेशमा गरेको अनुसन्धानले पनि त्यहाँ फलाम रहेको पुष्टि भएसँगै उद्योग मन्त्रालयले २०७६ असोजमा धौवादी फलाम खानी कम्पनी लिमिटेड गठन गरेर काम अघि बढाएको थियो । सरकारले बजेटमा राखे पनि पर्याप्त रकम उपलब्ध नगराउँदा खानी सञ्चालन गर्न नसकिएको हो । अध्ययनले परियोजनाको पुँजीगत लागत ५१ अर्ब २५ करोड लाग्ने प्रक्षेपण गरेको छ ।