काठमाडौं । भारतका अर्बपति व्यापारी अनिल अम्बानीविरुद्ध ३० अर्ब ठगी प्रकरणमा ‘लुक आउट नोटिस’ जारी भएको छ । भारतको कार्यान्वयन निर्देशनालय (ईडी) ले उद्योगपति अम्बानीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको हो । सम्पत्ति शुद्धीकरण (मनि लन्डरिङ) को विषयमा मंगलबार १० घण्टासम्म बयान लिएलगत्तै ईडीले उक्त सूचना जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
नोटिस जारी भएलगत्तै देशभरका अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी कार्यालयहरु र सीमा नाकाहरुमा सर्तकता अपनाइएको त्यहाँको सञ्चार माध्यमहरुले जनाएका छन् ।भारतका सबैभन्दा धनी मुकेश अम्बानीका भाइ तथा रिलायन्स ग्रुपका अध्यक्ष अनिलविरुद्ध ३० अर्ब भारतीय रुपैयाँ अपचलनको विषयमा उजुरी परेपछि ईडीले छानबिन सुरु गरेको थियो । त्यसक्रममा उनका कैयौँ उद्योग र व्यावसायिक फार्महरुमा छापा मारिएको थियो भने मंगलबार बयानको लागि बोलाइएको थियो ।
बिहान ११ बजेबाट सुरु भएको बयान राती नौ बजेसम्म चलेको थियो । उक्त बयानलगत्तै ‘लुक आउट नोटिस’ जारी भएकोले ईडी अम्बानीको बयानबाट सन्तुष्ट नभएको बरु पक्राउ पर्न सक्ने डरले विदेश भाग्न सक्ने अनुमान गरेको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।