कैलाली । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ, जसमा एक कैदीको मृत्यु भएको र ४७ जना घाइते भएका छन्। मृतक धनगढी–४ का ४० वर्षीय भरत चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार शुक्रबार राति करिब ११ बजे कारागारभित्र झडप भएको हो। झडपका क्रममा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो। चौधरीको शव अस्पतालको शवगृहमा राखिएको छ।
घटनामा घाइते भएका ४७ कैदीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। यसअघि बिहीबार पनि कारागारमा झडप भएको थियो, जसमा ५ जना कैदी घाइते भएका थिए। लगातार दुई दिनभित्र भएको यी घटनाले कारागार सुरक्षाप्रति प्रश्न उठाएको स्थानीयको टिप्पणी छ।