काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको आर्थिक समुन्नति र दिगो विकासका लागि नयाँ वित्तीय स्रोतको परिचालन अपरिहार्य भएको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा अर्थ समिति बैठकमा अर्थमन्त्री पौडेलले मुलुकको समग्र विकासका लागि उच्च प्रतिफल दिने दिगो पूर्वाधारलगायत क्षेत्रमा लगानी बढाउन परियोजनाको पहिचान, प्राथमिकीकरण, आन्तरिक स्रोत व्यवस्थापन, स्वदेशी तथा विदेशी लगानी र विभिन्न वित्तीय उपकरणको यथोचित प्रयोगका लागि वैकल्पिक वित्तको आवश्यकता देखिएको बताएका हुन् ।
उनले ऋणपत्र, स्वर्णकोष र अन्य वित्तीय साधनमार्फत वैकल्पिक विकास वित्त परिचालन गरी रोजगारी प्रवद्र्धन, दिगो आर्थिक विकास, दीर्घकालीन लगानी र सार्वजनिक पूर्वाधारमा निजी क्षेत्रको आकर्षण बढाउने उद्देश्य विधेयकमा समावेश गरिएको स्पष्ट पारे । सरकारी राजस्वले मात्र विकास आवश्यकता पूरा गर्न नसकेको, निजी पुँजी र प्रविधि वृद्धि हुन नसकेको तथा वैदेशिक अनुदान पनि घट्दै गएकोले परम्परागत लगानीका स्रोतको विकल्पका रूपमा वैकल्पिक वित्त महत्वपूर्ण हुने उनको भनाइ छ । मौजुदा कानुनमा वैकल्पिक वित्तसम्बन्धी प्रावधान नसमेटिएका कारण नयाँ कानुन आवश्यक भएको पनि अर्थमन्त्री पौडेलले बताएका थिए ।