रौतहट । गत आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ७४ लाख दुई हजार ६९९ मूल्य पर्ने सामान सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको छ । गत आवमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।
“गत आवमा मात्रै रु. दुई करोड ३१ लाख ४७ हजार मूल्य पर्ने स्कोरपियो गाडीदेखि साइकलसम्मका सवारीसाधन बरामद गरेका छौँ”, उनले भने, “सोही अवधिमा रु. दुई करोड ४८ लाख ४५ हजार ६५३ मूल्य पर्ने अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस्का समान पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको छ ।”
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले गत आवमा स्रोत नखुलेका ४८ लाख १७ हजार ११० रकम बरामद गरेको जानकारी दिएका छन् । उनका अनुसार गत आवमा एक÷एक थान स्कोरपियो र सफारी गाडी बरामद गरिएको छ । त्यसैगरी, एक÷एक थान बोलेरो, म्याजिक र अटोरिक्सासहित १८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयलाई बुझाएको छ ।
सशस्त्र प्रहरीले गत आवमा ६९३ क्युफिट काठ बरामद गरेर डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जनाएको छ । सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेका नौ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि बरामद भएको छ ।
गत आवमा ४०६ कार्टुन अर्थात् पाँच लाख ५१ हजार ८२५ मूल्यको मदिरा बरामद गरिएको छ भने सोही अवधिमा ८५० किलोग्राम माछा, एक हजार २४९ किलोग्राम बोइलर कुखुरा, १६ वटा गाईगोरु, भैंसी र पाडापाडी पनि बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।
त्यस्तै, चार लाख तीन हजार ५६ मूल्यका पटकासमेत रौतहट जिल्लास्थित सशस्त्र प्रहरीबलले बरामद गरेको जनाएको छ । प्रहरी उपरीक्षक बस्नेतले दक्षिणी सीमानाकामा पाँच वटा ‘बोर्डर आउटपोष्ट’ रहेको रौतहटमा अरु आठ वटा सुरक्षाबेस क्याम्पमार्फत सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारी पूरा गरिरहेको जानकारी दिए ।