काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताएका हुन् ।
वर्षासँगै सुक्खाले सङ्कटग्रस्त मधेस प्रदेशमा रोपाइँ सुरु भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको बताए । आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको र अब त्यो दिन धेरै टाढा नभएको उनले बताए ।
किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्यलाई देशको र वर्तमान सरकारको लक्ष्य भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सबै किसानलाई अभिवादन गरेका छन् । उनले यही साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको र पछिल्लो साता प्रकृतिले साथ दिएर वर्षाले फेरि हरियाली फर्काउन थालेको बताए ।