काठमाडौं । ३४१ मेगावाट क्षमताको प्रस्तावित बूढीगण्डकी हाइड्रोपावर परियोजना निर्माण गर्न वित्तीय व्यवस्थापन भएको छ । लामो समयदेखि लगानी जुट्न नसकेको अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि स्वदेशी बैंकहरूले लगानी गर्नेगरी बिहीबार सम्झौता भएको हो ।
कुल ७० अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत लगानी गर्नेछन् भने २५ प्रतिशत कम्पनीको स्वःपुँजीबाट जुटाइनेछ । उक्त आयोजना बनाउन विभिन्न नौवटा बैंकले ५२ अर्ब ५० करोड रुपैयाँ सहवित्तीकरणअन्तर्गत लगानी गर्ने सम्झौता सम्पन्न भएको हो ।
योसँगै आयोजना निर्माणका लागि बाटो समेत खुलेको छ । बूढीगण्डकीसँगै साउन महिनामै २८५ मेगावाटको अपर तमोर र २१६ मेगावाटको अपर सेती जलविद्युत् आयोजनाका लागि समेत वित्तीय व्यवस्थापन जुटिसकेको छ । ती दुवै जलविद्युत् आयोजनामा समेत नेपालका वाणिज्य बैंकहरूले सहवित्तीयकरणअन्तर्गत लगानी गर्नेछन् ।