काठमाडौं । ‘रिडिफाइनिङ सक्सेस्’ भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलस्थित होटल दूषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ ।
आव २०८१/८२मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
अध्यक्ष सिंहले पानसमा बत्ती बालेर शुभारम्भ गरिएको सो सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी एक सय ५० जनाभन्दा बढीको सहभागिता थियो । सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले जीवन बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मिहिनेतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्वलाई आत्मसात् गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्ने सबै शाखाहरूलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सम्पूर्ण शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूलाई बधाईज्ञापन गर्नुका साथै आगामी दिनहरूमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाइलाई थप वृद्धि गर्ने विश्वास व्यक्त गरिन् ।
सम्मेलनमा सहभागी भएका कर्मचारीहरूलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै चर्चित व्यक्तित्व अनिल केशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेका थिए । यसैगरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोले यसतर्फ सचेत रहन आग्रह गरे । विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिलाई चिन्न सकिने भएकोले वहाँहरूको वित्तीय क्रियाकलापलाई सूक्ष्म निगरानीमा राखी आफ्नो पेसालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता क्रियाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।
साङ्गीतिक प्रस्तुति तथा कर्मचारीहरूबीच टग अफ वार, फुटसल प्रतियोगिताजस्ता मनोरन्जनात्मक कार्यक्रमहरू समावेश गरिएको सो सम्मेलनमा आव २०८१/८२मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरूलगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।