काठमाडौं । टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५’ काठमाडौंमा चलिरहेको छ । प्रदर्शनीमा बीएससी आईटी अध्यनरत विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन् । प्राविधिक र व्यावसायिक सम्भावना बोकेका परियोजनाहरू निर्माण गर्न करिब एक सय ७० विद्यार्थी आबद्ध छन् ।
प्रदर्शनीमा पुष्पवृष्टि गराउने एफ पीभी ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबट (गीतमा नाच्ने), इमोसन डिटेक्सन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने), डाँफे अपरेटिङ सिस्टम, ईभी बाइक, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली), भूकम्प तथा बाढी पहिरोको सूचना दिने प्रणाली, नेप्से प्रेडिक्ट सफ्टवेयरलगायत छन् । साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डेटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्न सक्ने जनाइएको छ ।
स्मार्ट इरिगेसन र टुरिजम प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन् । प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ । अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौंको थापागाउँ, बानेश्वरमा सन्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देशले आयोजित प्रदर्शनी आयोजना गरिएको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । आइतबारसम्म चल्ने प्रदर्शनीको प्रवेश निःशुल्क रहेको छ ।