ढाका । बंगलादेशको कपडाजन्य निर्यात ११.९२ प्रतिशतले घटेको छ । आर्थिक वर्ष सन् २०२४/२५ को अप्रिल–जुन त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा उक्त दरले घटेर ९ अर्ब ११ करोड अमेरिकी डलरमा खुम्चिएको हो ।
यद्यपि अघिल्लो वर्षको तुलनामा भने ३.१५ प्रतिशतले बढी रहेको बंगलादेशी मिडियाले जनाएका छन् । बंगलादेश ब्यांकका अनुसार तयारी पोसाक क्षेत्रले यो त्रैमासिकमा धेरै अवरोधको सामना गर्नुपरेको छ ।
यसरी त्रैमासिक गिरावट आउनुमा संयुक्त राज्य अमेरिकाले लगाएको भन्सार कर मुख्य कारण देखिएको छ । यसले अनिश्चितता सिर्जना गर्दा बंगलादेशी कपडाजन्य निर्यातलाई प्रभावित पारेको बताइएको छ । यसबाहेक बंगलादेशबाट भारतले समेत गारमेन्ट आयातमा कडाइ गरेको छ । त्यसैगरी बंगाली राष्ट्रिय रावस्व बोर्डका कर्मचारीले गरेको आन्दोलनको प्रभाव समेत यसमा देखिएको द डेलीस्टार अनलाइनले उल्लेख गरेको छ । संसारभर नै आर्थिक काठिन्य सिर्जना हु्रँदा घरेलु उत्पादन लागत बढेको र निर्यात बजारको सीमित विविधीकरणले निर्यात प्रवृत्तिमा असर गरेको बताइएको छ ।
अमेरिका, जर्मनी, बेलायत, स्पेन, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, क्यानडा र बेल्जियममा यस अवधिमा बढी निर्यात भएको देखिएको छ । यी देशमा यो अवधिमा कुल निर्यातको ७१.८९ प्रतिशत अर्थात् मूल्यगत रुपमा ६.५५ अर्ब डलर हिस्सा छ ।कच्चापदार्थको लागत घटाउँदा निर्यातबाट बंगाली कपडाजन्य निर्यातबाट पाँच अर्ब १८ करोड डलर आम्दानी भएको बताइएको छ ।