जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ)ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशत मा झारेको छ । यसअघि सो दर २.५ प्रतिशत हुने भनिएको थियो । डब्लूटीओले यो गिरावटको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ ।
डब्लूटीओले शुक्रबार सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार, हालैका भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ । अमेरिकाले अगस्ट ७ मा लागू गरेको ’पारस्परिक भन्सार दर’ ले न केवल अमेरिकाको आयात घटाउनेछ, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्नेछ ।
यो असर सन् २०२५को दोस्रो छमाहीदेखि सन् २०२६ सम्म झनै गहिरिने अनुमान गरिएको छ। सोही सन्दर्भमा डब्लूटीओले सन् २०२५ का लागि पनि व्यापार वृद्धिदरको अनुमान संशोधन गर्दै ०.९ प्रतिशत मा ल्याएको छ । यसअघि अप्रिलमा यो दर ०.२ प्रतिशत हुने पूर्वानुमान गरिएको थियो ।
यद्यपि हालको अनुमान पनि भन्सार नबढाउने अवस्थामा गरिएको २.७ प्रतिशतको वृद्धिदरभन्दा निकै कम रहेको डब्लूटीओले स्पष्ट पारेको छ । यो आंशिकरूपमा अमेरिकाबाट भइरहेको अग्रिम आयात (फ्रन्टलोडिङ)को असर भएको बताइएको छ ।
क्षेत्रगत विश्लेषण अनुसार, एसियाली मुलुकहरू आगामी वर्षमा विश्व व्यापार वृद्धिका मुख्य सकारात्मक चालक बन्नेछ भने उत्तर अमेरिकी क्षेत्र सन् २०२५ र २०२६ दुवै वर्षमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।
डब्लूटीओकी महानिर्देशक एनगोसी ओकोन्जो–इवेलाले भन्सार नीतिमा भइरहेको अनिश्चितताको गम्भीर असरबारे चेतावनी दिँदै भने, ‘भन्सारको अनिश्चितता व्यवसायिक आत्मविश्वास, लगानी र आपूर्ति प्रणालीमा गहिरो दबाबको कारण बनिरहेको छ । यो अनिश्चितता विश्व व्यापार वातावरणका लागि अत्यन्त विघटनकारी साबित भइरहेको छ ।’ रासस/सिन्ह्वा