पाटन (ललितपुर) । नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राखेका छन् ।
सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताए । उनले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रुपमा काम गर्दै आएको बताए ।
सोसल डेमोक्रेसीको सञ्जालसँग विभिन्न देशका सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरू आवद्ध रहेको उल्लेख गर्दै सभापति देउवाले यस सञ्जालले एसियाली क्षेत्रको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको बताए ।
सो अवसरमा सभापति देउवाले नेपाली कांग्रेसकी नेतृ, नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंङ्गलादेवी सिंहलाई स्मरण गरे । “विसं २००४ मा भएको पहिलो नगर परिषद्को निर्वाचनमा महिलाहरुको मताधिकार हकका लागि उहाँले आन्दोलन गर्नुभएको थियो”, उनले भने ।
पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले लैङ्गिक समानता महिलाको मात्रै नभै सामाजिक रुपमा पछाडि पारिएका व्यक्ति तथा समुदायहरुको समेतको सरोकारको बिषय रहेको बताइन् ।
नेपालका महिला, दलित, सुकुम्बासी, थारुलगायतको विषयमा नेपाली कांग्रेस सचेत रहेको उल्लेख गर्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले विश्वभरिनै महिलाहरूको अधिकारका विषयमा केन्द्रित भएर महिलामाथि भएको अन्याय, अपमानबाट आन्दोलनको कुरा उठेको चर्चा गरे ।
महिला र पुरुषलाई समान रुपले हेर्ने मनस्थिति हुनुपर्नेमा जोड दिदै नेपाली कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले नेपाली समुदाय महिला र कमजोर वर्ग, समुदायप्रति असंवेदनशील हुँदै गइरहेको उल्लेख गरिन् ।
लैङ्गिक समानताका विषयमा समाजलाई जागरुक बनाउन आवश्यक रहेको नेपाल महिला सङ्घको अध्यक्ष उषा मिश्र राउतले बताइन् । कार्यक्रममा नेपाली कांग्रेस र स्थानीय राजनीतिमा महिलाहरूको सहभागितालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न र महिलाहरूको क्षमता अभिबृद्धि गर्न सातै प्रदेशका स्थानीय तहमा समेत गएर गोष्ठी सञ्चालन गर्ने जानकारी गराइएको छ ।