काठमाडौं , नेकपा (एस) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच करिब डेढ घण्टा लामो राजनीतिक भेटवार्ता भएको छ।राजनीतिक संवादलाई तीव्र बनाएका नेता श्रेष्ठ आइतबार खनाललाई भेट्न डल्लुस्थित निवास पुगेका थिए। यसअघि उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र शुक्रबार मात्र नेकपा (एस) का महासचिव घनश्याम भुसालसँग पनि भेट गरेका थिए। खनाल–श्रेष्ठबीचको भेटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट र समाजवादी आन्दोलन, राष्ट्रिय परिस्थिति, नेपालका कम्युनिस्ट एवं वामपन्थी शक्तिबीच सहकार्य र एकताबारे विस्तृत छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।श्रेष्ठले आफ्नो पार्टीको स्थायी कमिटी बैठकले हालै पारित गरेको पार्टी एकतासम्बन्धी प्रस्तावबारे खनाललाई जानकारी दिँदै अपील गरेका थिए। त्यस क्रममा खनालले पनि कम्युनिस्ट र वामपन्थी शक्तिबीच एकता तथा सहकार्यको पक्षमा आफू रहेको स्पष्ट पारेका छन्। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार, दुई नेताबीचको छलफल दुई पार्टीबीच मात्र केन्द्रित नभई व्यापक वामपन्थी सहकार्यको दिशामा रहेको थियो। दुवै नेता वर्तमान अवस्थामा राजनीतिक परिवर्तनको रक्षा, समृद्ध नेपाल निर्माणको प्रक्रिया अघि बढाउँदै वैज्ञानिक समाजवादको मार्ग पक्रनु आवश्यक रहेको निष्कर्षमा पुगेका छन्। यसका लागि कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिबीच सहकार्य र एकता अपरिहार्य रहेकोमा उनीहरूको सहमति भएको छ।