काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहुने गरी व्यवस्थापन मिलाएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध समेत उनले आग्रह गरेका छन् ।
‘कृषि मन्त्रालयले दिएको जानकारीअनुसार तत्कालका लागि २८ हजार आठ सय २४ मेट्रिक टन मल मौज्दात छ भने एक लाख ४० हजार पाँच सय चार मेट्रिक टन मल आउने क्रममा छ’, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । उनका अनुसार कृषि सामग्री कम्पनीमा २९ हजार एक सय ११ मेट्रिक टन मल मौज्दात छ । त्यसैगरी, युरिया मल १६ हजार पाँच सय ३९ मेट्रिक टन, डीएपी मल सात हजार छ सय ५३ मेट्रिक टन र पोटास मल चार हजार नौ सय १५ मेट्रिक टन कृषि सामग्री केन्द्रमा मौज्दात छ ।
यस्तै, साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार सात सय १२ मेट्रिक टन मल मौज्दात रहेको उल्लेख गर्दै उनले युरिया १० हजार नौ सय ८४ मेट्रिक टन, डीएपी मल नौ सय ४२ मेट्रिक टन तथा पोटास मल एक हजार सात सय ८५ मेट्रिक टन मौज्दात रहेको बताएका छन् ।