काठमाडौं । अन्तर्राष्ट्रिय आतङ्कवादविरुद्ध रोकथामसम्बन्धी प्रबन्धलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल–भारत विकास मञ्चले काठमाडौंमा ‘दक्षिण एसियामा आतङ्कवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठीमा सहभागीहरुले आतङ्कवाद केवल सुरक्षा चुनौती मात्र नभई विभिन्न आयामसँग जोडिएको जटिल समस्या भएको बताए । विचार गोष्ठीमा पूर्वपरराष्ट्रमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतङ्कवादी गतिविधि न्यून गर्न भारतले अगुवाइ गर्नुपर्ने बताए । यादवले आतङ्कवादी गतिविधिलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने उल्लेख गरे । आतङ्कवादी गतिविधि राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सदैव अमानवीय र मानवविरोधी भएको अध्यक्ष यादवले बताए । ‘दक्षिण एसियामा कुनै पनि देश आतङ्कवादबाट अछुतो छैन तर पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ । भुटान, भारत र बङ्गलादेशमा पनि यसको गतिविधि देखिन्छ,’ उनले भने ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आतङ्कवादलाई जन्मिन दिन नहुने भन्दै आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरू रहेको भन्दै आतङ्क सिर्जना गरिएको प्रमाण भएको बताए । दक्षिण एसिया क्षेत्र भनेको आतङ्कवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनै पनि प्रकारका आतङ्क हुन नहुने बताए । उनले भने, ‘आतङ्कवादलाई जन्मिन दिनुहुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिलेकाहीँ राज्य आतङ्क पनि सिर्जना हुन्छ । व्यक्ति आतङ्क, राज्य आतङ्क, समूह आतङ्क विभिन्न हुन्छन् । राज्य आतङ्क पनि कहिले कहीँ हुँदो रहेछ । नागरिकमाथि राज्यले आतङ्कपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ । आफ्नै देशमा पनि भएका छन् ।’
त्यसैगरी, नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री डा.मीनेन्द्र रिजालले दक्षिण एसियामा शान्ति र स्थिरताका लागि भारत–चीन सम्बन्ध मजबुत हुनु अपरिहार्य भएको बताए । उनले देशभित्रको राजनीतिक विषयलाई आतङ्कवादसँग जोडेर हेर्न नहुने बताउँदै माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोहको रूपमा व्याख्या गरे । उनले भारतमाथि हुने कुनै पनि आतङ्क वा सुरक्षासम्बन्धी आक्रमणमा नेपालको भूमि प्रयोग नहुने स्पष्ट पार्दै भारतको लागि मात्र होइन, कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिइने स्पष्ट पारे । भारत र नेपालको सम्बन्धलाई कुनै पनि मुलुकसँग दाँज्न नसकिने बताउँदै नेता रिजालले अन्य मुलुकहरूसँग पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । साथै, उनले भारत–चीन सम्बन्धमा कटुता बढे नेपालका विकास निर्माणदेखि अन्य क्षेत्रमा असर पर्ने चेतावनी दिए ।
कार्यक्रममा अन्य वक्ताहरुले दक्षिण एसिया आतङ्कवादको हटस्पट बन्दै गएको र यस्तो समस्याको स्थायी समाधानका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याएका थिए । विचार गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आतङ्कवाद केवल सुरक्षा चुनौती मात्र नभई राजनीतिक, सामाजिक, आर्थिक र भू–राजनीतिक आयामसँग जोडिएको जटिल समस्या भएको उल्लेख गरे । उनले अफगानिस्तान, पाकिस्तान, भारत, बङ्गलादेश, नेपाल, श्रीलङ्का, भुटान र माल्दिभ्स सम्मिलित दक्षिण एसिया क्रस–बोर्डर आतङ्कवाद, पृथकतावादी आन्दोलन, धार्मिक कट्टरपन्थ र राज्य प्रायोजित गतिविधिबाट प्रभावित भएको जिकिर गरे । त्रिपाठीले आतङ्कवादका कारण मानवीय क्षति, आर्थिक अवरोध, सामाजिक असन्तुलन र क्षेत्रीय अस्थिरता तीव्र भएको बताए ।