काठमाडौं । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार उनीहरुले शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएका थिए । मृतकका परिवारले उक्त आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशलामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।