दोलखा । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङमा पछिल्लो समय पर्यटक बढेसँगै होटल व्यवसाय पनि फस्टाउँदै गएको छ । शैलुङमा केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन वृद्धि भएसँगै यहाँको कालापानीमा होटल व्यवसायमा लगानी गर्ने लगानीकर्ता पनि बढेका छन् ।
पछिल्लो आठ महिनाको अवधिमा मात्रै शैलुङ गाउँपालिका–८ स्थित कालापानीमा १० वटा होटल थप सञ्चालनमा आएको स्थानीय होटल व्यवसायी दिनेश श्रेष्ठले बताए । श्रेष्ठले शैलुङ इको भिलेज होटल सञ्चालन गर्दै आएका छन् । उनका अनुसार आठ महिनाअघिसम्म कालापानीमा पाँचवटा सामान्य होटल सञ्चालनमा थिए । पहिला एक सय ६०/७० जना पाहुनालाई मात्रै व्यवस्थापन गर्ने सकिने अवस्था थियो । तर अहिले एकैपटक पाँच/सात सय जनालाई बास राख्न सक्ने गरी होटलहरु सञ्चालनमा आएको उनले बताए । ‘दुई वर्षअघिसम्म शैलुङ पुग्ने पर्यटकहरु होटल अभावका कारण फर्किनुपर्ने बाध्यता थियो, अहिले त्यस्तो छैन । साना–ठूला गरी १५ वटा होटल सञ्चालनमा रहेका छन्’, उनले भने । साथै, करोडौँ लगानीमा अन्य केही होटल निर्माणको चरणमा रहेकोे पनि उनले जानकारी दिए ।
शैलुङमा अहिले दैनिक दुई सयभन्दा बढी पर्यटक कालापानीमा बास नै बस्ने गरी आउने गरेका छन् । ‘शुक्रबार र शनिबार दैनिक पाँच सयदेखि एक हजार दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् । त्यसमा पनि शैलुङ कालापानीमा नै बास बस्ने पर्यटक नै चार सयभन्दा बढी हुन्छन्’, उनले भने । अन्य दिनमा पनि दैनिक दुई सयको हाराहारीमा शैलुङ घुम्न पर्यटकहरु आइरहेको उनको भनाइ छ । काठमाडौं, धादिङ, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोकबाट र फाट्टफुट्ट विदेशी पर्यटक पनि यहाँ आउने गरेको उनले बताए ।
राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले पनि यहाँ आउने पर्यटन बढिरहेका छन् । ग्राहकको बढ्दो चाप धान्नका लागि यहाँ होटल सञ्चालन गर्नेको चाप पनि बिस्तारै बढेको यहाँका पुराना होटल व्यवसायी लालबहादुर तामाङ बताउँछन् । तामाङ कालापानीकै पहिलो होटल व्यवसायी हुन् । २०३६ सालदेखि उनले यहीँ क्षेत्रमा होटल गर्दै आएका छन् । पर्यटकको आगमनको वृद्धिसँगै तामाङले पनि थप होटल खोल्ने सोच बनाएको बताए । होटल सञ्चालनका लागि १३ आना जग्गा खरिद गरिसकेको उनले जानकारी दिए ।
प्राकृतिक सम्पदाले भरिपूर्ण दोलखाको शैलुङ सयौँ थुम्काहरूको समूह मिलेर बनेको एक स्वर्गीय आनन्द दिलाउने पर्यटकीय गन्तव्य हो । थुम्कै–थुम्काको प्राकृतिक सम्पदाले भरिपूर्ण शैलुङको नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ । एक सय बढी थुम्काहरूको समूह मिलेर शैलुङ बनेको छ । प्राकृतिक, सांस्कृतिक तथा पुरातात्विक पर्यटनको राम्रो सम्भावना बोकेको शैलुङमा वर्षात्को हरियाली र छिनछिनमा हुने मौसम परिवर्तनले पर्यटक लोभिने गर्छन् । बर्खायामको हिलाम्मे सडक कष्टलाई शैलुङ पुगेपछि पर्यटकले भुल्ने गर्छन् । एक सय आठ वटा थुम्का–थुम्कीले बनेको मनमोहक शैलुङ डाँडा र सो क्षेत्रबाट मौसम खुलेको समयमा देखिने जुगल, गणेश, गौरीशंकर हिमाल, रोल्वालिङ एरियालगायत तल्लो क्षेत्र दोलखा–रामेछापको सुन्दर फाटले पर्यटकहरुलाई स्वर्गीय आनन्द दिलाउने गर्छ ।
प्राकृतिकरूपमा सम्पन्न शैलुङको पर्यटन प्रवर्द्धनका लागि विभिन्न भौतिक संरचनाहरु समेत निर्माण गरिएका छन् । गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरेर चीनको द–ग्रेअटवालको झल्को दिने पाँच सय मिटर लम्बाइको मिनी ग्रेटवाल निर्माण गरेको छ । यस मिनी ग्रेटवालले पनि धेरैको ध्यान तानेको छ । यसलाई पालिकाले पाँच सय मिटर थप गर्ने तयारी गरेको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय गरिसकेको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले बताए । उक्त भौतिक संरचनाको निर्माणको लागि टेन्डर गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै, यस क्षेत्रमा भीमसेन तलवार शिला, महादेव गुफा, पृथ्वीको नाइटो, कालीभगवती मन्दिर र एक सय १७ वर्ष पुरानो त्रिशूललगायतका अन्य दर्जनौँ सम्पदाका पनि रहेका छन् ।
स्थानीयले यहाँ आउने पर्यटकलाई रैथाने परिकारको स्वाद चखाउने गरेका छन् । शैलुङको तल्लो क्षेत्रमा उत्पादन हुने रातो मार्सी र रातो पोख्रेली चामलको भात, किबिको रक्सी तथा शुद्ध कोदोको परिकार धेरैको रोजाइ बन्ने गरेको यहाँका होटल व्यवसायी बताउँछन् । साथै, चौरीको दूधका परिकारहरू, शैलुङको आलु, लोक भालेको परिकारले पनि पर्यटकलाई तानिरहेको उनीहरुको भनाइ छ । शैलुङमा विभिन्न जडीबुटीका अचारको स्वाद समेत पर्यटकलाई चखाइने गरिएको छ ।
राजधानीबाट नजिकै रहेको शैलुङसम्म पुग्न काठमाडौंबाट मुढेसम्मको सार्वजनिक यातायात प्रयोग गर्न सकिन्छ । त्यहाँदेखि करिब १५ किलोमिटर पक्की सडक हुँदै कालापानीसम्म पुग्न सकिन्छ । जहाँ पुग्न अहिले कालापानी बजारसम्म सार्वजनिक यात्रुबाहक बस समेत चल्ने गर्छ । कालापानीबाट बिहान ११ः५० बजे छुट्ने उक्त बसको सहजरूपमा पर्यटकले प्रयोग गर्न सक्छन् । शैलुङ आउने पर्यटक समयलाई मध्यनजर गर्दै यहाँका व्यवसायीले कालापानीबाट बिहानको ११ः५० मा बस छुट्ने समय निर्धारण गरिएको हो । कतिपय पर्यटकले ढुङ्गेमा सवारी राखेर तीन किलोमिटर पैदलमार्ग हुँदै कालापानी पुग्ने गरेको र त्यहाँ बास बसेर बिहानको शैलुङ दृश्यावलोकन गर्न शैलुङ जाने गरेका छन् ।