काठमाडौं । सयपत्री हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आठौँ वार्षिक साधारणसभाले एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद जारी गरेपछि उक्त पुँजी ६० करोड रुपैयाँ पुग्नेछ । यो आयोजनाले हकप्रदबाट उठ्ने रकम यसअघि लिएको बैंक ऋण तिर्न र बाँकी हुने रकम ७६ मेगावाटको सानीभेरी जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ । लकिङ पिरियड पनि शुक्रबारबाट सकिएको छ । जलविद्युत्लगायत कम्पनीहरूको लकिङ पिरियङ तीन वर्ष राखिएको हुन्छ । स्थानीय, वैदेशिक रोजगारीमा गएका र संस्थापक लगानीकर्ताहरूले यो अवधिपछि मात्रै सेयर बिक्री गर्न पाउँछन् । सयपत्री हाइड्रोपावर साढे दुई मेगावाटको हो । यो कम्पनी चालू आर्थिक तेस्रो त्रैमासमा एक करोड १० लाख रुपैयाँ नाफामा छ । तर कम्पनीको सञ्चित आम्दानी चार करोड ४८ लाखले नोक्सानमा रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी कम्पनीको अधिकतम सेयर मूल्य नौ सय २२ रुपैयाँमा पुगेको छ । हाल बजारमा यो कम्पनीको प्रतिकित्ता सेयर छ सय ५७ रुपैयाँमा कारोबार भइरहेको छ ।