दार्चुला – महालक्ष्मी विकास बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाबाट करोडौँ रुपैयाँ अपचलन गरी अनलाइन जुवामा लगाउने चार जना बैंक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। उनीहरूलाई बैंकको उजुरीका आधारमा साउन २४ गते पक्राउ गरी बैङ्किङ कसुर मुद्दा दर्ता गरिएको हो।
प्रहरीका अनुसार, चारै जनाको मिलेमतोमा शाखाको दुई करोड ८४ लाख ७६ हजार ७ सय रुपैयाँ अपचलन भएको प्रारम्भिक अनुसन्धानमा खुलासा भएको छ। उनीहरूलाई जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ।बैंकको केन्द्रीय र प्रादेशिक कार्यालयले उनीहरूलाई पहिले नै निलम्बन गरी पक्राउका लागि जाहेरी दिएका थिए। रकम अपचलन भएको पत्ता लागेपछि गत बिहीबार केन्द्रीय कार्यालयको टोली गोकुलेश्वर पुगेको थियो। बैंकका अनुसार, उनीहरूले मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले रकम हिनामिना गरेका थिए। हाल शाखाको प्रबन्धकीय जिम्मेवारी हेमराज जोशीलाई दिइएको छ।