काठमाडौं । कृषिप्रधान देश नेपालले गत वर्ष आधा खर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नेपालले करिब साढे ६६ अर्ब रुपैयाँको खाद्यान्न पैठारी गरेको हो ।
गत वर्ष चामल १८ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ, दाल सात अर्ब दुई करोड १३ लाख ३१ हजार रुपैयाँ, गहुँको पिठो १२ लाख ६९ हजार रुपैयाँ र चना ८४ लाख नौ हजार रुपैयाँ बराबरको आयात गरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार गत आवमा चामल २४ करोड १५ लाख ५३ हजार किलोग्राम (किलो), दाल सात करोड दुई लाख ८५ हजार किलो, गहुँको पिठो २५ हजार ९६ किलो र चना ७४ हजार तीन सय किलो आयात गरिएको छ ।
त्यस्तै, धान २१ अर्ब ५२ करोड ३७ लाख ८४ हजार रुपैयाँ, मैक १९ अर्ब २७ करोड ६८ लाख ८७ हजार रुपैयाँ र कोदो ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको आयात गरिएको छ । परिमाणका हिसाबले उक्त वर्ष धान ५३ करोड ३७ लाख १५ हजार किलो, मकै ३८ करोड ३१ लाख नौ हजार किलो र कोदो एक करोड ५३ लाख १५ हजार किलो आयात गरिएको छ ।
सरकारले कृषि उत्पादनमा लगानी गर्न नसक्दा आयातमै निर्भर रहनुपर्ने अवस्था आएको व्यवसायीहरु बताउँछन् ।
व्यवसायी रिसद बेग मिर्जा सरकारको स्थिर नीति नहुँदा मुलुकमा लगानीको वातावरण बन्न नसकेको उल्लेख गर्छन् । अर्थविद् केशव आचार्यले कृषिप्रधान देश भनिए पनि कृषिजन्य सामग्री आयातका लागि अबौँ रकम खर्चिनु दुःखद कुरा भएको बताए । कृषिजन्य सामग्री तथा खाद्यान्नको उच्च आयात हुनुमा किसानहरुलाई राज्यले समेटन नसक्नु मुख्य कमजोरी भएको उनको भनाइ छ ।
‘किसानभन्दा पनि गैरकिसानले कागजको भरमा लगानी लिने प्रवृत्ति छ’, उनले आर्थिक दैनिकसँग भने, ‘वास्तविक किसानहरु भने मल, बीउ, सिँचाइ, कृषि, सडकलगायतका सामग्रीको अभावमा उत्पादन बढाउन नसक्ने अवस्थामा छन् ।’
तथ्यांकले विभिन्न प्रकारका अर्बौँ बराबरको चामल मात्र आयात भएको देखाएको छ । विभागको तथ्यांकलाई मान्ने हो भने गत आवमा बासमती चामल सात अर्ब ५२ करोड ९७ लाख ५७ हजार रुपैयाँ, ब्रोकन चामल ३० करोड ५३ लाख ९१ हजार रुपैयाँ र ब्राउन राइस सात लाख ३७ हजारको आयात गरिएको छ । उक्त मूल्य बराबरको क्रमशः बासमती चामल छ करोड ८७ लाख नौ हजार किलो, ब्रोकन चामल ७४ लाख २१ हजार किलो र ब्राउन राइस ७४ लाख २१ हजार किलो आयात गरिएको हो ।
नेपालको आयात व्यापारको सबैभन्दा धेरै हिस्सा भारत र चीन रहे पनि खाद्यान्न आयात भने सबैभन्दा बढी भारतबाट आयात हुने गरेको छ । चीनबाट भने फलफूल र अन्य सामग्री आयात हुने गरेको छ । खाद्यान्नका लागि भारत पछि इन्डोनेसिया, अर्जेन्टिना, ब्राजिल, युक्रेनलगायतका मुलुकमा नेपाल निर्भर छ ।
त्यसो त नेपालको वैदेशिक व्यापारतर्फ निर्यातमा पनि खाद्य सामग्रीकै वर्चस्व छ । विभागका अनुसार गत आवमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा सोयाबिन तेल, फलाम तथा फलामका उत्पादनहरु, यार्न, सूर्यमुखी तेल, ऊनी गलैँचा, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, जुस, अलैँची, प्लाइउड, ऊनी फैल्टका उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पिना, पश्मिनाको सल, कपडा, कत्था, पामतेल, चाऊचाऊ, सिमेन्ट प्रमुखरुपमा रहेका छन् ।
समीक्षा अवधिमा भटमास तेलको निर्यातमा ११ हजार सात सय ३३ प्रतिशतले वृद्धि भई एक खर्ब छ अर्ब अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । फलाम तथा तिनका उत्पादनको निर्यातमा छ प्रतिशतले ह्रास आई १६ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा जुसको निकासीमा ११ दशमलव ४१ प्रतिशतले ह्रास आई सात अर्ब ७२ करोड रुपैयाँ, सूर्यमुखी तेलको निर्यातमा सात हजार चार सय ३६ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यातमा समीक्षा तीन दशमलव २४ प्रतिशतले ह्रास आई सात अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा २६ दशमलव ६४ प्रतिशतले वृद्धि भई चार अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यसैगरी, समीक्षा अवधिमा अदुवाको निर्यातमा ५० दशमलव ३८ ले ह्रास आई ५८ करोड रुपैयाँमा सीमित भएको छ । पीना (आयल केक) को निर्यातमा २२ दशमलव ८० प्रतिशतले वृद्धि भई तीन अर्ब ६३ करोड पुगेको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा एक सय १७ प्रतिशतले वृद्धि भई दुई खर्ब २४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६७ दशमलव ७१ प्रतिशत रहेकोमा आर्थिक वर्षको सो हिस्सा ८१ दशमलव १० प्रतिशत पुगेको छ । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेको अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, युएई, चीन, फ्रान्स, अस्ट्रेलिया, जापान, इटाली, क्यानडा, टर्की, नेदरल्यान्ड्स र अफगानिस्तान प्रमुखरुपमा रहेका छन् ।