काठमाडौं । नागरिक लगानी कोषको खुद मुनाफा बढेको छ । कोषले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ७१ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा कोषको ब्याज आम्दानी भने २३ दशमलव ७५ प्रतिशत घटेको छ । यस अवधिमा सेवा तथा कमिशन आम्दानी १७ दशमलव १७ प्रतिशत बढेको छ । यसैगरी कोषको कुल आम्दानी आठ दशमलव ९६ प्रतिशत बढेको छ भने कुल खर्च छ दशमलव ७७ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्ममा कोषको नाफा बढे पनि कोषको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कोषको यस्तो आम्दानी एक रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । चौथो त्रैमासको अन्त्यसम्ममा कोषको प्रतिसेयर नेटवर्थ एक सय ६४ रुपैयाँ २३ पैसा रहेको रहेको छ । हाल चुक्ता पुँजी छ अर्ब ४८ करोड रुपैयाँ रहेको कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको छ ।