काठमाडौं , प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले ‘कूटिल राजनीतिको सिकार’ भएको दाबी गर्दै राजीनामाको घोषणा गरेका हुन्।निजामती सेवा विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिको निष्कर्षपछि खतिवडामाथि प्रश्न उठेका थिए। प्रतिवेदनमा आफ्नो हस्ताक्षर रहेको स्वीकार गर्दै उनले त्रुटि समितिका सदस्यहरू वा आफूबाट नभएको दाबी गरे। तर, अन्तिम प्रतिवेदन गहिरिएर नहेर्नु कमजोरी रहेको स्वीकार गरे। खतिवडाले सुरुदेखि सरकारी कर्मचारीका लागि अवकाशपछि दुई वर्षको ‘कुलिङ अफ पिरियड’ अनिवार्य हुनुपर्ने पक्षमा रहेको बताए। उनका अनुसार, सर्वसम्मत रूपमा सो प्रावधान विधेयकमा राखिए पनि प्रतिवेदन लेखनमा संलग्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीको कारण त्रुटि भएको हो। ‘जसले कुलिङ अफ पिरियड लागू गर्नुपर्ने अडान राख्यो, उही दोषी देखाउने प्रयास भयो,’ खतिवडाले भने, ‘संसदीय छानबिन प्रतिवेदनले मलाई दोषी नठहराए पनि जिम्मेवारी बोध गर्दै हाँसीहाासी राजीनामा दिएको हुँ।’उनले आफू गठबन्धनप्रति अडिग रहेको र राष्ट्रिय सभाबाट पनि दुई वर्षको कुलिङ अफ पिरियड कायम हुने प्रावधानसहित विधेयक पारित हुने विश्वास व्यक्त गरे।