कञ्चनपुर । तत्कालीन समयमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरूको पुनर्स्थापनाको माग गर्दै आमरण अनसन सुरु भएको छ । महेन्द्रनगर बजारको मदन चोकमा उनीहरूले साउन २२ देखि आमरण अनसन सुरु गरेका हुन् ।
विस्थापित भएकाहरू जयबहादुर रोकाया र रणबहादुर सिंह छ दिनदेखि आमरण अनसनमा छन् । गएको असारमा काठमाडौंको माइतीघरमा अनसन बसेका उनीहरू वनमन्त्री ऐनबहादुर शाहीबाट एक/डेढ सातामै निर्णय हुने आश्वासन पाएपछि घर फर्केका थिए । दुई महिनासम्म पनि कुनै निर्णय नभएपछि आमरण अनसनमा बस्नुपरेको आरक्षपीडित संघर्ष समितिका अध्यक्ष समेत रहेका रोकायाले बताए ।
उनले विगतमा आयोगले निर्धारण गरेका दुई हजार चार सय ७३ परिवारलाई पुनर्स्थापना गरिनुपर्ने बताए । रोकायाले दिवानसिंह विष्टको अध्यक्षतामा बनेको २१औँ आयोगले सिफारिस गरेअनुसार पुनर्स्थापना गरिनुपर्ने माग गरेका छन् । विष्ट आयोगले प्रतिपरिवार १० कठ्ठा जग्गा दिनुपर्ने सिफारिस गरेको उनले बताए । त्यसका लागि जमिन समेत खोजी गरिएको उनले जानकारी दिए ।
पछिल्लोपटक पुनरावेदन अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरुको नेतृत्वमा गठित ३२औँ समितिले पुनर्स्थापना गर्नुपर्नेको संख्या दुई हजार २७ देखाएको छ । आयोगले २०८१ पुस २६ मा प्रतिवेदन बुझाएको थियो ।
अहिले विस्थापितहरू जिल्लाका विभिन्न १४ वटा शिविरमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै ढक्का शिविरमा छ सय बढी परिवार बसोबास गरिरहेका छन् । यसबाहेक तारापुर र लल्लरे डाडामा पनि विस्थापित बसिरहेका छन् । बाणी दैजीलगायतका स्थानमा विस्थापित बसोबास गरिरहेका छन् । महेन्द्रनगरमा आमरण अनसनसँगै बेदकोट नगरपालिकाको दैजीमा, बनहरा शिविरमा र ढक्का शिविरमा पनि रिले अनसन भइरहेको रोकायाले बताए ।
उनका अनुसार माग पूरा नभए अन्तिममा आफ्नो जमिन आफैँ अमिन भएर नापजोख गरेर जमिन छुट्याउने बताए । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको पूर्वी क्षेत्रमा एक सय ५५ वर्गकिलोमिटर जमिन अधिग्रहण गरेर विस्तार गरिएको हो । हाल निकुञ्जमा स्तरोन्नति गरिएको शुक्लाफाँटाको क्षेत्रफल तीन सय पाँच वर्गकिलोमिटर रहेको छ ।