काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छिन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउन्डेसनद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति देशले भर गर्नुपर्ने बताइन् । नेपालको जनसंख्याको ठूलो हिस्सा युवाहरुको रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उनको भनाइ थियो । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिइन् । मन्त्री डा राणाले युवाहरु सबै विदेश गए, देश नै खाली भइसक्यो भन्नेजस्तो भाष्य निर्माण गरिएको बताइन् । उनले भनिन्, ‘म युवाहरु विदेश जानै हुँदैन भन्ने पक्षमा छैन । म भन्छु यहाँहरु विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस् । हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।’
स्वदेश फर्किएका कैयौँ युवाहरुले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै मन्त्री डा. राणाले युवाहरुको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट पारिन् । मन्त्री डा. राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यमलगायतका कैयौँ क्षेत्रमा नेपाली युवाहरुले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेको पनि बताइन् । नेपालीहरुले संसारमा नै परिश्रमी र इमान्दार नेपालीको पहिचान बनाएको भन्दै उनले यसलाई पनि पुँजीका रुपमा लिनुपर्ने उल्लेख गरिन् ।
देशका युवाहरुलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न पनि उनले सुझाव दिइन् । उनले भनिन्, ‘अहिले धेरै युवाहरु टिकटकलगायतका सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ । तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस् । जीवनमा नकारात्मकता फैलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरुको जीवनमा कुनै राम्रो ऊर्जा दिँदैन ।’