धेरै नेपाली युवाहरू अहिले वैदेशिक रोजगारीको लागि मलेसिया, दुबई, कतार, जापान, कोरियालगायतका मुलुकहरूमा गएका छन् । उनीहरूको प्रमुख उद्देश्य सम्पत्ति आर्जन नै हो । धेरै सम्पत्ति आर्जन गरेर परिवारलाई सुख दिनकै लागि उनीहरू विदेश गएका हुन् । यसरी ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीको लागि विदेश भासिएको अवस्थामा अन्य देशबाट आएर नेपालमा काम गर्ने विदेशी कामदारहरूको संख्या पनि धेरै रहेको छ ।
नेपालमा विदेशी कामदार मुख्यतः निर्माण, होटल तथा पर्यटन, उद्योग, सेवा, शिक्षा, र परामर्श क्षेत्रमा संलग्न हुने गर्छन् । हालका वर्षहरूमा विशेषगरी भारत, बाङ्लादेश, चीन, म्यानमार, फिलिपिन्स, कोरिया, थाइल्याण्ड, पाकिस्तान र केही अफ्रिकी देशहरूबाट पनि श्रमिकहरू नेपाल आएका छन् । भारतसँगको खुला सिमाना र ऐतिहासिक सम्बन्धका कारण भारतबाट आउने कामदारहरूको संख्या सधैँ नै उच्च छ । यिनले विशेषगरी निर्माण, सुरक्षा (गार्ड) र सेवा क्षेत्रहरूमा काम गर्छन् । अन्य देशका नागरिकहरू विशेष सीपयुक्त काममा संलग्न देखिन्छन् । जस्तो कि शिक्षण, परामर्श, सूचना प्रविधि र होटल व्यवस्थापन ।
नेपालमा विदेशी कामदार राख्न चाहने संस्थाहरूले वैधानिकरूपमा श्रम विभाग वा सम्बन्धित सरकारी निकायबाट स्वीकृति लिनुपर्छ । ‘विदेशी रोजगार ऐन २०६४’ र अन्य सम्बन्धित नियममार्फत विदेशी श्रमिक व्यवस्थापन गर्ने प्रयास गरिन्छ । तथापि, धेरै विदेशी नागरिक पर्यटक भिसामा आएर गैरकानुनीरूपमा काम गर्ने गरेको पाइएको छ, यसले नेपाल सरकारलाई श्रमबजारको उचित व्यवस्थापनमा चुनौती पुर्याएको छ ।
सरकारले केही उच्चस्तरका प्राविधिक वा परामर्शदातालाई विदेशी कामदारको रूपमा भित्र्याउन सजिलो बनाएको छ, तर न्यूनस्तरका काममा आउने विदेशी नागरिकहरूका लागि भने कडाइ अपनाउन थालिएको छ । विदेशी कामदारहरूले नेपालको अर्थतन्त्रमा केही हदसम्म सकारात्मक भूमिका पनि खेलेका छन् । विशेष सीप भएका कामदारहरूले नेपालमा ज्ञान, सीप र व्यवस्थापन शैली भित्र्याएका छन्, जसबाट नेपाली कामदारहरू पनि लाभान्वित हुनेगरेका छन् । उदाहरणका लागि, थाइ सेफहरू नेपाली होटल तथा रेस्टुरेन्टहरूमा काम गर्दा खाना र सेवा क्षेत्रको स्तरमा सुधार देखिएको छ । यस्तै कोरियन, चाइनिज र फिलिपिनोहरूबाट सूचना प्रविधि, शिक्षण र स्वास्थ्य क्षेत्रमा प्राविधिक ज्ञानको आदानप्रदान भएको छ ।
नेपालमा विदेशी कामदारको संख्या धेरै भए पनि यस्ता कामदारहरूको व्यवस्थामा धेरै नै चुनौतीहरू रहेका छन् । अहिले धेरै विदेशी नागरिक पर्यटक भिसामा नेपाल आएर होटल, रेस्टुरेन्ट वा पसलहरूमा गैरकानुनीरूपमा काम गरिरहेको भेटिएको छ । यस्तो कार्यले घरेलु श्रमिकहरूलाई रोजगारी गुम्ने स्थिति निम्त्याउन सक्छ । अहिले पनि सस्तो श्रमका कारण कतिपय नेपाली उद्योगहरूले नेपाली श्रमिकहरूभन्दा विदेशीहरूलाई रोज्ने प्रवृत्ति देखिएको छ, जसले दीर्घकालमा नेपाली श्रमबजारमा असन्तुलन ल्याउन सक्छ । विदेशी श्रमिकहरूको निगरानी गर्ने प्रणाली कमजोर भएको र भिसा अवधि सकिएको अवस्थामा पनि नियन्त्रणको उपयुक्त संयन्त्र नहुनु चुनौतीपूर्ण पक्ष हो । विदेशी कामदारको अर्को चुनौती भनेको कहिलेकाहीँ भाषा, धर्म र सांस्कृतिक भिन्नताले कार्यस्थलमा झै–झगडा वा मनोवैज्ञानिक समस्या निम्त्याउन सक्छ ।
भिसा तथा श्रम अनुमतिका प्रक्रियामा पारदर्शिता र कडाइ गर्न सकेको खण्डमा नेपालमा विदेशी कामदारहरूको समस्यालाई व्यवस्थित गर्न सकिन्छ । पर्यटक भिसाको दुरुपयोग रोक्न कार्यान्वयन कडा हुनुपर्छ । विदेशी कामदारहरूको तथ्यांक राख्ने प्रणाली सुदृढ पार्नुपर्छ । को कहाँ काम गर्दैछ भन्ने अभिलेख राख्नु जरुरी छ । यसैगरी सीपमा आधारित छनोट प्रणाली विकास गर्र्न सकेको खण्डमा पनि सस्तो श्रम होइन, आवश्यक सीप भएका कामदार मात्र भित्र्याउन सकिन्छ । नेपालले विदेशी श्रमिकलाई काम गर्ने अनुमति दिन थालेको इतिहास लामो छैन । धेरैजसो विकसित देशमा विदेशी कामदारहरूप्रति नीति स्पष्ट र संरचित देखिन्छ, जसले घरेलु र विदेशी श्रमिकबीच सन्तुलन कायम राख्न सहयोग गर्छ । नेपालमा भने अझै नीति र कार्यान्वयनबीचको दूरी कायम छ । उदाहरणका लागि मलेसिया, कतार, यूएईजस्ता देशले विदेशी श्रमिकहरूको लागि निश्चित कोटा प्रणाली, स्वास्थ्य जाँच, न्यूनतम तलब मापदण्डजस्ता कुरा लागू गरेका छन् । नेपालमा यस्ता व्यवस्थापन अझै प्रारम्भिक चरणमै छन् । यसले गर्दा कतिपय नियोक्ताहरूले विदेशी श्रमिकलाई न्यून पारिश्रमिकमा काम गराउने, बीमा नदिने वा असुरक्षित कार्यस्थलमा राख्नेजस्ता समस्याहरू देखा परिरहेका छन् ।
नेपालमा काम गरिरहेका केही विदेशी कामदारले भाषा, संस्कृति र सामाजिक धारणा तथा स्टीरियोटाइपका कारण भेदभावको सामना गर्नुपर्ने स्थिति पनि आउने गरेको पाइन्छ । विशेषगरी अफ्रिकी मूलका वा मुस्लिम देशबाट आएका कामदारप्रति सामाजिकरूपमा विभिन्न गलत धारणाहरू छन्, जसले उनीहरूको कार्यस्थलमा आत्मविश्वास र सामाजिक एकीकरणमा असर पार्दछ । यसबाहेक, महिला विदेशी कामदारहरूले यौन दुर्व्यवहार, तलब नदिने वा कागजात जफत गर्नेजस्ता मुद्दाहरू पनि झेलेका उदाहरणहरू छन्, जुन मानवअधिकारको दृष्टिकोणबाट गम्भीर विषय हो ।
नेपालले पछिल्ला वर्षहरूमा शिक्षा, सूचना प्रविधि र उद्योग क्षेत्रमा विदेशी विशेषज्ञहरूमार्फत नयाँ सीप र ज्ञान प्राप्त गर्न थालेको छ । जस्तैः अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले ल्याएका चिकित्सक, प्रोजेक्ट म्यानेजर, इन्जिनियर तथा अनुसन्धानकर्ताहरूले नेपालको संस्थागत विकासमा योगदान गरेका छन् । यस्ता विशेषज्ञहरू नेपालमा सीमित अवधिको लागि आएका भए पनि उनीहरूले प्रदान गर्ने तालिम, कार्यशाला र अनुभव नेपाली युवा तथा संस्थाहरूका लागि दीर्घकालीनरूपमा लाभदायक हुनेगरेको छ । यस्तो सकारात्मक पक्षलाई प्रोत्साहन गर्न उपयुक्त नीति तथा प्रक्रियाहरूको विकास आवश्यक देखिन्छ ।
नेपालमा पछिल्लो समय निजी क्षेत्रले विदेशी कामदारलाई काम दिने क्रम बढाइरहेको छ, विशेषगरी होटल, रेस्टुरेन्ट, मिडिया, र सूचना प्रविधिका क्षेत्रहरूमा । निजी क्षेत्रले दक्ष जनशक्तिको अभाव देखाउँदै विदेशी श्रमिक ल्याउनेतर्क गर्छ, तर यसैसँग उनीहरूले कानुनी प्रक्रिया पालना नगर्ने, श्रम अधिकार नदिनेजस्ता गम्भीर प्रश्नहरू पनि उठेका छन् । उदाहरणका लागि, काठमाडौंको केही ठूला रेस्टुरेन्टहरूमा फिलिपिन्स र थाइल्याण्डबाट आएका शेफहरू काम गरिरहेका छन्, तर धेरैजसोको श्रम अनुमति छैन । यसबाट राज्यलाई राजस्व गुम्ने मात्र होइन, श्रमिकहरू पनि असुरक्षित अवस्थामा काम गर्न बाध्य छन् ।
नेपालमा विदेशी कामदारहरू राख्ने विशेषमा अहिले प्रयोगमा रहेका कानुनहरू पर्याप्त स्पष्ट छैनन् । यसैले नेपालको सन्दर्भअनुकूल छुट्टै नीति निर्माण जरुरी छ । अर्कोतर्फ देशमा काम गरिरहेका सबै विदेशी श्रमिकहरूको विवरण राख्न अनलाइन प्रणाली बनाइनु आवश्यक छ, जसले नीति निर्माण, निगरानी, र सुधारमा सहयोग पुर्याउनेछ । विदेशी कामदार पठाउने देशहरूसँग श्रम सम्झौता गरी श्रमिकको सुरक्षाका लागि स्पष्ट मापदण्ड बनाइनु आवश्यक छ ।
नेपालमा रहेको विदेशी कामदारहरूले केही क्षेत्रमा सकारात्मक योगदान दिएका छन् भने केही क्षेत्रमा चुनौती पनि उत्पन्न गराएका छन् । यो विषयलाई गम्भीररूपमा लिएर सन्तुलित नीति निर्माण गरिनु आवश्यक छ, जसबाट नेपालको श्रमबजार, आर्थिक विकास र सामाजिक सद्भावमा सन्तुलन कायम रहोस् । सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य गरेर मात्र विदेशी श्रमिक व्यवस्थापन प्रभावकारी र दीर्घकालीन बनाउन सकिन्छ ।