काठमाडौं । डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धताअनुरुप यो लगानीको घोषणा गरेको जानकारी दिएको छ ।
डोङफेङ र भोयाबीच पुँजी वृद्धि सम्झौता भएको छ । सम्झौताअनुसार डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम)ले भोयामा करिब एक सय ३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ । पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ । लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९ दशमलव ६९ प्रतिशत स्वामित्व पाउनेछ । डीएफएएमको तीन दशमलब ३० प्रतिशत हिस्सा हुनेछ भने बाँकी १७ दशमलव शून्य एक प्रतिशत अरू सेयरधनीले राख्नेछन् । यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ ।
भोया डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको भोयाले ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ । यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ । नयाँ पुँजीलाई अनुसन्धान र विकास (आरएन्डडी), उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ । यसले भोयालाई अन्य ठूला इलेक्ट्रिक भेहिकल ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न पनि मद्दत गर्नेछ ।
डोङफेङले सर्वसाधारणका लागि भविष्यको ग्रिन मोबिलिटी र स्मार्ट यातायात प्रणालीतर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार भोयामा गरिएको हालको यो लगानी नवीनता र दिगोपनमा गरिएको लगानीको उदाहरण मात्र हो । पछिल्ला केही वर्षमा विश्वव्यापी अटोमोबाइल उद्योग द्रूत गतिमा परिवर्तन हुँदै आएको छ । ग्राहकहरू वातावरणमैत्री गाडी रोज्न थालेका छन् । विभिन्न सरकारहरूका नीति नियमहरूले पनि यसलाई समर्थन गरेका छन् ।
डोङफेङजस्ता ठूला कम्पनीहरूले आवश्यकताअनुसार आफ्नो रणनीति परिवर्तन गर्दै आएका छन् । यो नयाँ पुँजी वृद्धिले डोङफेङलाई भविष्यको गाडी बजारमा अझ मजबुत बनाउन मद्दत गर्ने जनाइएको छ ।