काठमाडौं ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन झडपपूर्ण बनेपछि अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित बनेका छन्।चाबहिलस्थित एक पार्टी प्यालेसमा मंगलबार भएको अधिवेशनमा संस्थापन पक्ष र धवलशम्शेर राणा पक्षका युवाबीच हातहालाहाल भएपछि लिङदेनले मञ्चबाटै असन्तुष्ट पक्षलाई अनुशासनमा बस्न चेतावनी दिए। “कृपया सबै अनुशासित भएर बस्नुस्। अधिवेशन सुरु हुँदा नै डिस्टर्ब गर्नु ठीक होइन,” लिङदेनले भने, “यदि अधिवेशन हुन नदिने र बाहुबली प्रदर्शन गर्ने प्रयास भयो भने टुलुटुलु हेरेर बसिँदैन।”लिङदेनले युवाहरूमाथि पार्टीको भविष्यको जिम्मेवारी रहेको भन्दै गम्भीर बन्न आग्रह गरे। “तपाईंहरू कसैको हतियार होइन। प्रक्रियामा चित्त नबुझे छलफल हुन्छ, सहमति नभए मतदान हुन्छ, तर गुण्डागर्दी र बाहुबली चल्दैन,” उनले स्पष्ट चेतावनी दिए।