काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चुलिँदै गएको छ। महामन्त्री डा. धवलशम्शेर राणा पक्षधर युवाहरूले मंगलबार काठमाडौंमा समानान्तर समिति घोषणा गरेका छन्।राप्रपाको भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशन चाबहिलमा तय भए पनि उद्घाटनअघि नै कोलाहल मच्चियो। राणा पक्षका युवा नेता ज्योति लामाले मञ्चमा पुगेर मन्तव्य सुरु गरेकै बेला अध्यक्ष राजेन्द्र लिङदेन स्थलमा प्रवेश गरेका थिए। लिङदेनले अधिवेशन औपचारिक रूपमा सुरु नभएको भन्दै बन्द सत्रमा कुरा राख्न सुझाव दिए पनि दुवै पक्षबीच तीव्र वादविवाद भयो। संस्थापन पक्षका अध्यक्ष आकांक्षी अमित ठकुरी र लामा पक्षका युवाबीच हात हालाहालको स्थिति बनेपछि प्रहरी परिचालन गरी अवस्था नियन्त्रणमा लिइयो।तनावका बीच लिङदेनले अधिवेशन स्थगनको घोषणा गर्दै कार्यक्रमस्थलबाट बाहिरिँदै “आयातित व्यक्तिहरूको घुसपैठ भएको” दाबी गरे र छानबिन हुने बताए। लिङदेन बाहिरिएपछि असन्तुष्ट पक्षका ज्योति लामाले आफूलाई स्वतः अध्यक्ष घोषणा गर्दै २५ सदस्यीय कार्यसमिति गठनको घोषणा गरे। अँध्यारोमै गरिएको घोषणामा उदय घिसिङ, रिकेश खत्री, विजय मोक्तान, काले थिङ, विवेक पाण्डे लगायतका नाम समावेश छन्।यसअघि असन्तुष्ट समूहले सात बुँदे मागसहित निर्वाचन समिति विघटन र नयाँ समिति गठनको माग गर्दै चेतावनी पत्रसमेत पठाएको थियो।