काठमाडौं । ललितपुरको महालक्ष्मीस्थित मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नताको प्रमाण नपाइएको भन्दै उनलाई मुद्दामा नचलाउने राय दिइएको छ। यससँगै गुरुङ सीआईबीको अनुसन्धानबाट उन्मुक्त भएका छन्। सीआईबीको प्रतिवेदनअनुसार सहकारी ठगीमा ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। प्रतिवादीमा गुरुङकी पूर्वश्रीमती तथा मितेरी सहकारीकी तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ, बर्दियाका ज्योतिबहादुर भण्डारी, धादिङका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापा लगायतका नाम छन्। भण्डारी, खत्री र अधिकारी पक्राउ परेका छन् भने बाँकी फरार छन्। अनुसन्धानमा भण्डारीको समूहले सहकारीका सञ्चालक र सदस्यहरूलाई करिब १४ करोड रुपैयाँ ठगी गरेको र विदेशबाट अनलाइन ‘फिसिङ’ मार्फत थप ३ करोड ४४ लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ। सीआईबीका अनुसार भण्डारीको समूहले करिब ६ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार र ठूलो मात्रामा क्रिप्टो मुद्रा कारोबार गरेको प्रमाण भेटिएको छ। भण्डारीमाथि ठगी, संगठित अपराध, हुन्डी, आभौतिक मुद्रा कारोबार, कीर्ते र लिखतसम्बन्धी विभिन्न मुद्दा चलाउने सिफारिस भएको छ। उनले दुई फरक जिल्ला (कास्की र बर्दिया) बाट फरक–फरक नागरिकता र राहदानी लिएको प्रमाण पनि फेला परेको छ। सीआईबीको प्रतिवेदनको आधारमा अब जिल्ला सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।