काठमाडौं । नेपालले प्रत्येक दिनजस्तो मनाइने विभिन्न अन्तर्राष्ट्रिय दिवसहरुमा भाग लिने गरेको पाउँछौं, चाहे त्यो बाघ दिवस अथवा हात्ती दिवस किन नहोस् ।
हिजो मात्रै अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो । महामहिम राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रीहरू र सामाजिक अभियन्तासम्मले विभिन्न समारोह, गोष्ठी आदिमा भाग लिएको र देश विकासमा युवाहरुको ठूलो भूमिका रहने धारणा राखी चर्को भाषण गरेको सामाजिक सञ्जालमा हेर्न र सुन्नमा आएको छ । यसपालि चालीस युवाहरुलाई तारे होटलमा एक कार्यक्रम गरी उत्कृष्ट युवाको संज्ञा दिई सम्मान समेत गरिएको देखियो ।
नेपालमा झन्डै ४० प्रतिशत युवा रहेका शक्तिप्रति देश कति गम्भीर छन् भन्ने कुरा मनन् गर्नु ढिला नै भइसकेको छ । राष्ट्र निर्माणमा युवा शक्तिको भूमिका अमूल्य हुने कुरामा दुई मत हुनै सक्दैन । युवाहरू नै समुदायको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका वाहक हुन् । अग्रगामी, सकारात्मक परिवर्तनका प्रेरक शक्ति र अन्ततः राष्ट्रको छवि निर्माण गर्ने पनि युवा नै हुन् । तिनीहरूको साहस, नवीनता, जिज्ञासा र उच्चस्तरको आत्म–विश्वासलाई पनि महत्वपूर्ण सम्पत्तिको रूपमा हेरिनुपर्छ । युवा शक्तिलाई सही ढंगले बुझ्नुपर्छ, कदर गर्नुपर्छ र समग्र राष्ट्र निर्माणका लागि परिचालन गरिनुपर्छ । यसको गलत बुझाइ, गलत अर्थ र दुरुपयोग भएमा यो उत्तिकै खतरनाक हुन सक्छ ।
यस्तो भन्दैगर्दा आजको दिनमा नेपाली युवाहरुले आफ्नै देशमा खासै अवसर पाउन सकेको देखिँदैन । युवाहरुले अवसर पाउँदो हो त देश विकासमा ठूलो योगदान दिने मात्र नभई आफ्नो व्यक्तित्व विकासका साथै व्यावसायिक विकासमा समेत ठूलो योगदान पुग्दोरहेछ भन्ने ज्वलन्त उदाहरण यहाँ उल्लेख गर्न समसामयिक ठान्छु । आफू स्वयम् त्यसबाट लाभान्वित भएको हुँदा सोको उल्लेख गर्न चाहन्छु ।
आफू स्नाकोत्तरको अध्ययन गर्दा त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय विकास सेवा (राविसे) नामक उत्कृष्ट अध्ययन सेवा कार्यक्रम सञ्चालन गरेको थियो । राष्ट्रिय विकास सेवा, त्रिविको तीन वर्षे स्नातकोत्तर (मास्टर) पढ्ने प्रत्येक विद्यार्थी अनिवार्यरुपमा एक वर्ष स्वयंसेवी भई भाग लिनुपर्ने र देशका कुनै एक गाउँमा बसेर जनसेवा गर्नुपर्ने कार्यक्रम हो । स्नातकोत्तर पढ्ने हजारौँ युवाहरु यस कार्यक्रममा भाग लिई देश विकासमा, खासगरी ग्रामीण जनताका अति आवश्यक सेवाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरणलगायत सामुदायिक विकासमा सहभागी हुनु, जनजागरण ल्याई जनचेतना वृद्धि गर्न ठूलो र महत्वपूर्ण योगदान पुर्याउने कार्यक्रम मानिन्थ्यो ।
दुर्गम गाउँमा ११ महिना कार्यरत रहेको, गाउँ जान तयारीको क्रममा समुदायमा आधारित विकासका गर्नुपर्ने काम एवम् जिम्मेवारीसम्बन्धी तालिममा सहभागी हुँदाको सिकाइ र अनुभव सम्झिँदा अविस्मरणीय, रोमाञ्चक, चुनौतीपूर्ण अवस्थाको सम्झना आउँछ । गाउँघरको बसाइ र गाउँका तत्कालीन साथीभाइ, विद्यार्थी, शिक्षक, जिल्लाका कर्मचारी हाकिमहरू, नेताहरुको याद दिलायो । आफूले गरेका काम र उपलब्धि, रमाइलो गरेका क्षण साथै भोग्नुपरेका चुनौतीहरू आँखा अगाडि झलझल्ती देखापर्ने भइहाल्यो ।
आज देश कठिन अवस्था खासगरी व्यापक भ्रष्टाचार, सुशासनको नाममा कुशासनले गर्दा अधिकांश जनता र मुख्यतया युवावर्गमा असन्तुष्टि बढेको देखिन्छ । राष्ट्रिय विकास सेवामा सहभागी सबै युवाहरु देश र गाउँघरको यथास्थिति र वास्तविकता बुझ्न सुनौलो अवसर प्राप्त हुन्थ्यो र सो प्रक्रियाबाट आफ्नो व्यक्तित्व विकास गर्न लाभान्वित हुन पाउँथ्यो । अनिवार्य सहभागी हुनुपर्ने भएबाट प्रत्येक युवालाई काम गर्न अवसर दिनु, जिम्मेवार बनाउनु र अनुभव बटुल्न ठूलो मौका मिल्थ्यो । युवाहरुले पनि देश विकासमा सक्दो योगदान गरेको थियो र प्रतिफल पनि धेरै राम्रो प्राप्त भएकै हो ।
आफ्नो राविसे कर्मथलो प्युठान जिल्लाको सदरमुकाम खलंगा परेको थियो । यहाँस्थित महेन्द्र माध्यमिक विद्यालयमा गणित र विज्ञान विषयको शिक्षकको रूपमा कार्यरत रहेको थिएँ । पढाइका अलावा सामाजिक सेवाका विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गराउने गरिन्थ्यो ।
विद्यालयहरू पर्याप्त मात्रामा थिएनन्, निजी त छँदै थिएन । भएका विद्यालयहरूको अवस्था त्यति राम्रो थिएन । मुख्यतया गणित, अंग्रेजी, विज्ञान विषय पढाउने शिक्षकको ठूलो अभाव थियो । राविसे कार्यक्रमबाट धेरै हदसम्म सो कमी पूर्ति गर्न सघाएको र सफलता हासिल गरेको थियो । त्यसैले गाउँलेहरु राविसे स्वयम्सेवकहरुलाई ‘विकासे मास्टर’ भन्न रुचाउँथे ।
गाउँघरको रहनसहन, कसले र कसरी जनतालाई थिचोमिचो गर्ने, अन्याय अत्याचार गर्ने, कुरीति र अन्धविश्वास आदि छर्लंग देखेको, महिलाहरुमाथि गरिने भेदभाव, पिछडिएका जनजातिले भोग्नुपरेका अपमानविरुद्ध आफूले गरेका प्रयास सम्झन पुग्छु ।
नेता भनाउँदाहरुले गर्ने घिनलाग्दो राजनीतिक खेल, सरकारी कर्मचारी र जनप्रतिनिधि मिलेर गरेका कुकर्म, भ्रष्टाचार र अख्तियारको दुरुपयोग कसरी गर्दा रैछन्, देश विकासको समर्थक र विरोधीहरू कसरी भूमिका खेल्दो रहेछन् भन्ने सम्झना भयो । राविसेको कार्यकालमा आफूले धेरै सिक्ने अवसर पाइयो । आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा भएका उपलब्धि र विसंगतिहरु सूक्ष्मरुपमा अवलोकन गर्ने, अध्ययन गर्ने अवसर पनि प्राप्त भयो । यी अमूल्य अनुभव हालसम्म पनि उपयोगी भएको पाउँछु ।
११ महिनाको सफल कार्यकाल सकेर फर्किँदै गर्दा आत्मविश्वास बढेको कुरा ढुक्कसँग राख्न सकेको मात्र नभएर आफूमा गौरबको अनुभूति महसुस समेत भयो । देश, राष्ट्र र राष्ट्रियताको भाव झन् मनमस्तिष्कले बझ्ने अवसर मिल्यो । राष्ट्रप्रति सबै नागरिकको जिम्मेवारी छ भन्ने निष्कर्षमा पुग्यौँ ।
काठमाडौंको रैथाने, खासै दुःखको अनुभव नभएको, परिवारमा पुल्पुल्याएको आफूले यो कार्यक्रममा सहभागी हुने अवसर नहुँदो हो त व्यावहारिक ‘जीवन उपयोगी शिक्षा’ प्राप्त गर्न असम्भवजस्तै हुने थियो होला । मैले भन्नैपर्छ ‘पढाइ त ज्ञान बढाउनका लागि मात्र हो, जिन्दगी जिउन त परिस्थिति र भोगाइले मात्र सिकाउँछ ।’
राविसे कार्यक्रमपछि बाँकी रहेको एक वर्षे स्नातकोत्तर पढाइ रमाइलोसँग बित्यो । जागिरको हिसाबले आफूले मेहनत नै गर्नु परेन । पढाइ सकिनासाथ त्रिविको सेडाबाट डेमोग्राफर र राविसेबाट सुपरीवेक्षण अधिकृत पदमा काम गर्न प्रस्ताव आयो । आफूले राविसे नै जाने निधो गरियो । यसको प्रमुख श्रेय राविसेलाई दिन चाहन्छु ।
कामको सिलसिलामा देशका विभिन्न जिल्ला, गाउँगाउँ गई स्वयम्सेवी युवाहरुसँग अन्तक्र्रिया गर्ने ठूलो अवसर प्राप्त हुनको साथै उनीहरुले गरेका उल्लेखनीय कामहरू हेर्ने मौका पाइयो । कोही छिटपुटबाहेक अधिकांश युवाहरुले शिक्षणको अलावा अभियन्ता, सहजकर्ता, सामाजिक परिचालनकर्ता, परिवर्तन अभिकर्ताको रुपमा कार्यरत रहेको देखियो । यसबाट सामाजिक र राजनीतिक रुपान्तरणमा ठूलो सफलता हासिल गरेका मान्न सकिन्छ । साथै, यो कार्यक्रमले युवाहरुको आफ्नै व्यक्तित्व विकासमा प्रशस्त प्रभाव पारेको देखियो ।
व्यक्तिगत कुरा गर्दा राष्ट्रिय विकास सेवा र पछि युनिसेफमा कार्यरत हुँदा नेपालको तत्कालीन ७५ जिल्ला घुम्न सफल भयौँभन्दा मेरो लागि गौरवको अनुभूति हुन्छ । राष्ट्रिय विकास सेवामा कार्यरत रहँदै गर्दा युएनको एसिया तथा प्रशान्त क्षेत्रको ‘स्वयम्सेवी’ परियोजनामा कार्य गर्न प्रस्ताव आयो जसलाई सहर्ष स्वीकार्दै चार वर्ष श्रीलंकामा रही काम सिकाउने र सिक्ने काम गरियो । यसै सिलसिलामा एसियाकै ठूलो गैरसरकारी संस्था ‘सर्वोदय सँगमय’सँग पनि काम गर्ने अवसर मिल्यो । जसले गर्दा देशमा मात्र होइन विदेशमा समेत सिक्ने र सिकाउने अवसर मिल्यो ।
संसारका विभिन्न देशहरू घुमियो, युवाहरुका विभिन्न कार्यक्रमहरु पनि हेरियो । शिक्षित युवाहरुलाई परिचालन गरी देश विकासको साझेदारी गर्न सफल राष्ट्रिय विकास सेवाजस्तो उत्कृष्ट र गौरव गर्नलायकको कार्यक्रम सायदै अरु देशमा होला । यो कार्यक्रम विश्वका धेरै मुलुकले अवलोकन गरी अनुशरण गरेको सुनेको हो । संयुक्त राष्ट्रसंघ युएनडीपी, युनिसेफबाट ठूलो समर्थन प्राप्त कार्यक्रम थियो यो ।
यस्तो भन्दै गर्दा विडम्बना लोकतान्त्रिक सरकारले यो कार्यक्रम विनाकारण स्थगन गरियो र युवाहरुको देश सेवा गर्ने अवसरबाट बञ्चित हुन पुग्यो । श्रीलंकाबाट फर्केर आउँदा लौह पुरुष गणेशमान सिंहको भेटमा ‘श्रीलंकाबाट के ल्यायौ ?’ भन्नुभा’को सम्झना ताजै छ । म त कुनै उपहारको कुरा गर्नुभा’कोजस्तो लागेको थियो । तर उहाँले ‘के सिकेर आ’को ?’ भन्नुभयो । आफूले पनि देश विकासमा युवा परिचालको कुरा राखेँ । ध्यानपूर्वक सुन्नुभयो र राम्रो छ यो लागू गर्नुपर्छ, म किसुनजी (तत्कालीन प्रधानमन्त्री)सँग कुरा गर्छु भन्नु’भो तर विभिन्न कारणवश त्यो अगाडि बढ्न सकेन ।
विश्वको जुनसुकै ठाउँको राष्ट्र निर्माणमा युवा शक्ति अमूल्य स्रोत हो । युवाहरू समुदायको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रगामी, सकारात्मक परिवर्तनका प्रेरक शक्ति र अन्ततः राष्ट्रको छवि निर्माण गर्ने पनि हुन् । तिनीहरू आफ्नो साहस, नवीनता, जिज्ञासा र उच्चस्तरको आत्म–विश्वासको कारणले पनि महत्वपूर्ण सम्पत्तिको रूपमा हेरिनु पर्छ । यस्तो भन्दै गर्दा नेपाली युवाहरुले खासै अवसर पाउन सकेको देखिँदैन र त हाल देशबाट विभिन्न कारण देखाई प्रत्येक वर्ष लाखौँको संख्यामा युवा विदेश पलायन भइरहेको अवस्था छ । अति गम्भीर र चिन्ता लाग्ने नयाँ लहर सुरु भएको छ । पढेलेखेका बुद्धिजीवीहरू समेत पनि पलायन हुने क्रम दिन प्रतिदिन बढेको अवस्था छ । यस्तै, लहर चल्ने हो भने ‘युवाविहीन’ देशकोरुपमा देख्नु, सुन्नुपर्ने हुन्छ ।
सरकारसँग पलायन रोकथाम कम गर्न खासै योजना तयार गरेको देखिएको छैन । सबै राजनीतिक दलका नेताहरु यही मुद्दामा प्रत्येक दिन मात्र ठूलाठूला भाषण दिने र चिन्ता पोख्नेबाहेक ठोस कार्यक्रमको छलफल गरेको समेत सुनिएको छैन । हुन त आईटीजस्ता क्षेत्रमा विशेष दखल भएकाहरू आफ्नै प्रयासमा नेपालमै बसेर, नेपाल फर्केर स्वरोजगार भएको, उद्यमी भएको सुखद् समाचार सुन्नमा नआएको होइन ।
आज हामी गौरवको आयोजना भन्दै धेरै खर्चालु, ऋण लिँदै आफूले धान्नै नसक्ने कामहरूजस्तै मेलम्ची, फास्ट ट्रयाक सडक निर्माण, दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा नराम्ररी फसिसकेको छ । त्यस्तै, १० हजार मेघावाट बिजुली उत्पादन गर्न भारतसँग सम्झौता भएको छ । अरु ठूला परियोजनाजस्तै निजगढ विमानस्थल आदिको परिकल्पना गरिराखेको अवस्था छ । यस्तो परियोजना नचाहिने होइन, भएका परियोजना किन समयमा सम्पन्न हुँदैन ? घाँटी हेरी हाड निल्नुपर्ने हुन्छ, नभए अर्काको निर्भरता र ऋणको बोझमा बस्न बाध्य हुनुपर्नेछ । त्योभन्दा ठूलो रोग सबै राजनीतिक दलहरूका ठूला नेता, कर्मचारीहरुको संलग्नतामा देशका गौरव आयोजनाको नाममा ठूलाठूला परियोजनाहरूमा ठूलै रकम ब्रह्मलुट लाख पनि होइन, करोड पनि होइन अर्बौँको भ्रष्टाचार हुने गरेको पाइन्छ ।
देशमा धेरै अनुभव प्राप्त बुद्धिजीवीहरू नभएको होइन । राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रममा भाग लिएका धेरै व्यक्तिहरू हाल नेता भई सरकार चलाउने पदमा आसिन समेत भएको देख्छु । तर नेता र सरकारको इच्छाशक्ति खोइ त ? ढिला गर्ने अब छुट छैन । आह्वान हुनुपर्यो, छलफल हुनुपर्यो र राष्ट्रिय विकास सेवाजस्ता युवा केन्द्रित राष्ट्रिय गौरव कार्यक्रमको रूपमा लागू हुनैपर्यो र युवाहरुलाई अवसर दिनुपर्यो ताकि देशबाहिर नभई देशभित्रै काम गर्नुपर्छ भन्ने स्वेच्छामा परिणत हुनेछ ।