काठमाडौं । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनग गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
कम्पनीले कुल १२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । बुधबार काठमाडौंको नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्ष बीच यससम्बन्धी औपचारिक सम्झौता भएको छ । सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक श्री सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्दिप कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
वि.स. २०६५ सालमा स्थापना भएको माउन्ट एभरेष्ट डिष्टिलरीे लिमिटेलले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इ.एन.ए. स्पिरिट, डिस्टिलर्स वेट ग्रेन सोल्युबल उत्पादन गर्दै आइरहेको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा रहेको छ भने कारखाना टिकुलीगढ, तिलोत्तमा–१४, रुपन्देहीमा रहेको छ । यस कम्पनीको स्पिरिट उत्पादन क्षमता प्रतिदिन १० किलोलीटर र बोटल बन्द गर्ने क्षमता प्रतिदिन ३,००० केस रहेको छ । कम्पनीले हाल ७० युपी र ५० यूपी अन्तर्गतका आफ्नै ब्रान्डहरु उत्पादन तथा बजारमा बिक्री गरिरहेको छ, जसले क्षेत्रिय बजारमा मजबुत बिक्री प्रदर्शन र ब्रान्ड पहिचान बनाएको छ । कम्पनीले शिघ्रै प्रमियम २५ यूपी, ३० यूपी र ४० यूपी अन्तर्गतका मदिरा ब्रान्डहरु बजारमा ल्याउने योजना रहेको छ ।