काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सीजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरूले पहिलो पटकसीजी इन्टरनेट र आईपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५ सय रुपैयाँ र संस्थागतरूपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् ।
ग्राहकहरूले सीजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २५ सय रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकहरूले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै, हाल सेवा लिइरहेका ग्राहकहरूले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले सेवा लिनुपूर्व सीजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्नेछ । सीजी कम्युनिकेसन्ससँगको यो सहकार्यले यस बैंकका ग्राहकहरूलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।