काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम ल्याउने भएको छ। यो कम्पनीको दोस्रो खुलामुखी योजना हो ।
कम्पनीका अनुसार यसमा हाल नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फन्डमध्ये पहिलोपटक मिनि एसआईपी तथा एसटीपी जस्ता विशेषता रहेका छन् । योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरु छनौट गरी लगानी गरिनेछ ।
यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणहरुमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणहरुमा लगानी गरिने छ । साथै योजनाको रकम लगानी गर्दा भविष्यमा गर्न सक्ने प्रगतिलाई समेत राम्रो संग अध्ययन तथा अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय गरिने छ ।
लगानीकर्तालाई के फाइदा ?
कम्पनीका अनुसािर योजनामा व्यवस्थित तथा नियमित रुपमा लगानी गरी उचित प्रतिफल चाहने व्यक्तिहरूका लागि लगानीको लागि उपयुक्त विकल्प हो । नेपालको सन्दर्भमा हेर्दा पूँजी बजार विकासको क्रममा रहेको र यस योजनाको अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्ने रहेको हुँदा बजारको विस्तार सँगसगै यस योजनामा लगानी गर्ने इकाईधनीको सम्पत्ति समेत बढ्दै जाने हुँदा यस प्रकारको योजनामा लगानी गर्दा लगानीकर्ताहरुले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने देखिन्छ ।
कुनै पनि व्यक्तिले न्यून जोखिम लिई स–सानो रकम नियमित रुपमा दीर्घकालसम्म लगानी गरी भविष्यमा उचित प्रतिफल सहित एकमुष्ठ ठुलो रकम प्राप्त गरी आफ्नो विसलिस्ट मा रहेका वस्तु तथा सेवा प्राप्त गर्न तथा आफ्नो वित्तीय आवश्यकता पुर्ति गर्नको लागि यस प्रकारको योजनाहरुमा लगानी गर्दा निकै लाभदायक हुने देखिन्छ ।
योजनामा लगानीकर्ताहरुले नियमित रुपमा निश्चित समयसम्म लगानी गरी पावर अफ कम्पाउन्डिङ को लाभ लिन सक्छन् । त्यसैगरी मिनि एसआईपी ५ सयमा मात्र मिल्ने सुविधा छ । यसबाहेक एन आई सी एशिया क्यापिटलबाट संचालित अर्को खुलामुखी योजनामा यस योजनामा गरिएको लगानी स्थानान्तरण गर्न सकिनेछ ।
एक मुष्ठ रकम लगानी गरी वा एसआईपी गरिएको रकम निश्चित समय पश्चात् आफ्नो आवश्यकता अनुसार नियमित रुपमा निकाल्न मिल्ने सुविधा समेत यसमा छ । लगानी योग्य रकम भएको समयमा आफ्नो क्षमता अनुसार थप रकम लगानी गर्न मिल्ने सुविधा रहेको योजनामा संघ संस्थाहरुले एन आई सी एशिया क्यापिटल लिमिटेडसँग सम्झौता गरी आफ्नो तलबी कर्मचारीहरुको तलब/भत्ताबाट केही रकम सोझै जम्मा गरी इकाई खरिद गरिदिन सक्नेछन् ।