काठमाडौं । नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन–३ आगामी भदौको पहिलो साता हुने भएको छ ।
अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजना र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जनाइएको छ । विभिन्न चार राष्ट्रका खेलाडी सहभागी हुने उक्त लिगमा विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले प्रतिस्पर्धा गर्दै आएका छन् ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ । प्रतियोगितामा याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कुल १० क्लबहरू सहभागी हुने आयोजकले जनाएको छ । पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी प्रबन्ध निर्देश नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेल स्थललाई आकर्षक बनाउने बताइन् । उनले चीन, भारत, पाकिस्तान र ताइवानका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्ने जानकारी दिइन् । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् ।
लिग विजेताले तीन लाख रुपैयाँसहित रनिङ ट्रफी तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने दुई टोलीले जनही ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि एभीएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन भएका थिए । यसपल्ट भने प्रहरी सहभागी छैन ।