काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका पूर्वनिर्देशक सचिन्द्रकुमार यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबर भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवले २०६६ जेठ २४ देखि २०७९ साउन २९ सम्मको कार्यकालमा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ खर्च–कारोबार गरेको देखिएको छ। तर, यसमा २ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँ मात्र स्रोत खुलेको थियो भने ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन सकेन। अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएकाले यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको जनाएको छ। स्रोत खुल्न नसकेको रकम बराबरको बिगो पनि माग गरिएको छ।यसैगरी, यादवले कमाएको सम्पत्ति आफ्नी श्रीमती आशाकुमारी यादवको नाममा राखेको पाइएकोले उनलाई पनि प्रतिवादी बनाइएको छ।