काठमाडौं ,ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायमाथि पनि अनुसन्धानको मागसहित उजुरी दर्ता भएको छ।बानेश्वर निवासी हरिबहादुर कार्कीले यही साउन २७ गते अख्तियारमा ‘सी००८–३५’ नम्बरको उजुरी दर्ता गराएका हुन्। उजुरीमा उपाध्यायले अख्तियार प्रमुख रहेका बेला (२०५७–२०६३) उक्त जग्गा घोटाला प्रकरण दबाएको र सरकारी जग्गा किनबेचको बाटो खोलिदिएको आरोप लगाइएको छ।
उजुरीपत्रमा भनिएको छ, “ललिता निवासको सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिहरूको नाममा पास गर्दा पर्याप्त तथ्य र प्रमाण रहे पनि तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले २०५९ मंसिर १५ गतेको उजुरी तामेलीमा राख्ने निर्णय गरे। यसरी उनले सरकारी जग्गालाई व्यक्तिगत बनाउन कानुनी आधार तयार गरिदिए।”
अख्तियारको आन्तरिक अभिलेखअनुसार, २०५९ मंसिरमा मालपोत विभाग र समरजंग कम्पनीका कर्मचारी मिली करिब १२५ रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको प्रमाण फेला परेको थियो। अनुसन्धान महाशाखाले पनि अनुसन्धान अगाडि बढाउन सुझाव दिए पनि अन्ततः प्रमुख आयुक्त उपाध्यायले उजुरी तामेलीमा राखेका थिए।
बालुवाटारस्थित ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते मात्र विशेष अदालतमा मुद्दा दायर गरेको थियो। १७५ जनालाई अभियुक्त बनाइएको यस मुद्दामा १० अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको थियो। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई दोषी देखिए पनि अधिकारक्षेत्रको अभावमा मुद्दा चलाइएको थिएन। यो मुद्दामा विशेष अदालतले २०८० फागुन ३ गते पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित सबै राजनीतिक पदाधिकारीलाई सफाइ दिएको थियो भने केहीलाई मात्र दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतमा यो फैसलाको पुनरावलोकन अझै बाँकी छ।