काठमाडौं । पर्यटन विभागका निर्देशक सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सचिन्द्र कुमार यादवले लाखौँ गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले झण्डै ९७ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । योसँगै उनी मुद्दा किनारा नलागेसम्म निलम्बनमा परेका छन् । गैरकानुनी सम्पत्ति थुपारेको उजुरीपछि अख्तियारले अनुसन्धान गरेको थियो । उनले २०६६ जेठ २४ गतेदेखि सरकारी जागिर सुरु गरेका थिए ।
जागिर सुरु गरेदेखि अख्तियारमा उजुरी परेको २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा उनले प्राप्त गरेको पारिश्रमिक/तलब बचतबापतको रकम, दैनिक भ्रमण भत्ता बचतबापतको रकम, जीवन बीमाको अवधि समाप्तिपश्चात प्राप्त रकम, हिमाल आरोहणको क्रममा सम्पर्क अधिकृत भई कार्य गर्दा प्राप्त गरेको रकम, आंशिक समय परामर्शदाताको रुपमा काम गर्दा प्राप्त गरेको रकम, घरबहालमा दिँदा प्राप्त रकम, बैठक भत्ता बचतबापतको रकम, कर्मचारी सञ्चय कोष र स्वदेशी बैंकबाट लिएको कर्जा सापटी रकम, कृषि आयबापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय रकम, बैंकमा रहेको मुद्दती तथा बचत खातामा भएको मौज्दातमा प्राप्त ब्याज रकम, विभिन्न कम्पनीहरूको सेयर बिक्रीबाट प्राप्त रकम समेत गरी सीडीई यादव र उनको एकाघर परिवारका सदस्यहरूले जाँच अवधिमा दुई करोड ६८ लाख १८ हजार नौ सय ७२ रुपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ ।
जाँच अवधिमा यादवको घरजग्गा खरिद÷रजिस्ट्रेसन दस्तुर समेतको रकम, घर निर्माण खर्च, कर्मचारी सञ्चय कोष र बैंकबाट लिएको कर्जा सापटीको सावाँब्याज भुक्तानी रकम, विभिन्न कम्पनीहरूको सेयर खरिदमा भएको लगानी रकम, शैक्षिक खर्च, जीवन बीमाको प्रिमियम भुक्तानी रकमका साथै परिवारको नाममा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको बैंक मौज्दात रकम समेत गरी तीन करोड ६५ लाख चार हजार चार सय ५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी गरेको भेटिएको थियो ।
अख्तियारका अनुसार आम्दानी र खर्चको तुलनामा ९६ लाख ८५ हजार पाँच सय ५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको हो ।
‘सीडीई यादवले आर्जन गरेको सम्पूर्ण सम्पत्ति वैधानिकरुपमा आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेको पुष्टि हुन आएको छ’, अख्तियारले बिहीबार दर्ता गरेको मुद्दामा भनिएको छ, ‘यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवम् निषेधित गरिएबमोजिमको कसुरमा बिगो ९६ लाख ८५ हजार पाँच सय ५३ रूपैयाँ १९ पैसा कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।’
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवाना हुन, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति जफत हुन र वार्षिकरुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाईछिपाई झुट्टा विवरण पेस गरेको समेत पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा कैद जरिवाना हुनुपर्ने मागदाबी गरेको छ ।
सीडीई यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको समेत अख्तियारको दाबी छ । सोही कारण उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख समेतका प्रचलित कानुनबमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र आशा कुमारीलाई प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।